नेपाल रुष्ट : ओलीलाई एक पद रोज्न प्रस्ताव

नेपाल रुष्ट : ओलीलाई एक पद रोज्न प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई एउटा मुख्य जिम्मेवारी रोज्न लिखित प्रस्ताव गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयमा सातबुँदे ‘असहमतिपत्र’ जाहेर गर्दै ओलीलाई अध्यक्ष र प्रधानमन्त्री पदमध्ये एउटा रोज्न माग गरेका हुन्।

पार्टी अध्यक्षदेखि सबै नेतामा एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्था लागू गर्नुपर्ने माग उनको छ। नेता नेपालले पार्टी विधानको धारा ४६ (क) बमोजिम स्थानीय तहदेखि संघीय सरकारसम्मका कार्यकारी जिम्मेवारी वहन गरेका नेतालाई दोहोरो मुख्य जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन्। उनले पार्टी अध्यक्षदेखि नै त्यो विधि कार्यान्वयन गर्न माग गरेका हुन्।

नेकपामा नेताबीचमा देखिएको खटपटका कारण अन्तरविरोध चर्किने देखिएको छ। तत्कालीन एमालेभित्र यो विवाद तल्लो तहसम्मै फैलने लक्षण देखापरेको छ।पार्टीको पछिल्लो सचिवालय बैठकले नेता नेपालको वरीयता खोसेको थियो। पार्टी एकतापछि तेस्रो वरीयतामा रहेका नेपाललाई आइतबारको सचिवालय बैठकले घटुवा गर्दै चौथो वरीयतामा पुर्‍याएको थियो। उनको वरीयतामा अर्का पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाललाई ल्याइएको छ।

त्यसपछि नेता नेपाल अध्यक्ष ओलीसँग रुष्ट बनेका हुन्। १ भदौको सचिवालय बैठकमा प्रधानमन्त्रीले वरीयताको विषय प्रस्तावका रूपमा ल्याएपछि नेपालले ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद रोज्न आग्रह गरेका थिए।

नेपालको त्यस्तो मागमा ओलीले झोक्किँदै आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछोड्ने बताएका थिए। गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकमा अहिले नेपालले उठाएजस्तै माग नेता वामदेव गौतमले उठाएका थिए। ओलीले गौतमलाई विधान संशोधन गरेरै उपाध्यक्ष पद दिएर संगठन विभाग प्रमुख बनाएका छन्।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।