काठमाण्डु – टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले थ्रीजी सेवा बन्द गर्ने भएको छ ।
दुवै कम्पनीले पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले थ्रीजी सेवा बन्द गर्न लागेको हो ।
एनसेलले सोमबारदेखि पाँच वटा प्रदेशका १३ जिल्लाका विभिन्न पालिकामा रहेका २२० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गरिसकेको छ । एनसेलले यसअघि कोशी प्रदेशका केही पालिकामा थ्रीजी सेवा बन्द गरिसकेको छ ।
एनसेलका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने प्रतिबद्धताअनुरूप थ्रीजी सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिइएको हो ।
थ्रीजी सेवा बन्द भए पनि ग्राहकहरूले टूजीका साथै फोरजी नेटवर्कमार्फत उच्च गुणस्तरको भ्वाइस सेवा उपलब्ध हुने एनसेलले जनाएको छ ।
यस्तै नेपाल टेलिकमले पनि आउँदो आर्थिक वर्ष २०८३–८४ मा थ्रीजी सेवालाई पूर्णरुपमा हटाउने तयारीका साथ काम गरिरहेको छ ।
टेलिकमका अनुसार थ्रीजी सेवा प्रवाह गरिरहेका तीन हजारभन्दा बढी बिटिएस टावरमध्ये केही हटाउन सुरु भइसकेको छ ।
थ्रीजी सेवा हटेपछि ग्राहकहरू फोरजी सेवामा जान सक्ने भ्वाइसका लागि मात्रै टुजी सेवा पर्याप्त हुने टेलिकमले जनाएको छ । डेटा र भ्वाइस दुवैका लागि ग्राहकले फोरजीको भोल्टे सेवामा जान सक्ने तथा यसले डेटा र भ्वाइस दुवैको गुणस्तर बढाउने टेलिकमले बताएको छ ।
थ्रीजी नेटवर्कलाई क्रमशः फोरजीमा रूपान्तरण गरिने भएकाले पुराना थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिममा परिवर्तन गर्न नेपाल टेलिकमले आग्रह गरेको छ ।
एनसेलले पनि थ्रीजी प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी नेटवर्कमा स्तरोन्नति गर्न तथा फोरजी चल्ने मोबाइलमा भोल्टे सेवा सक्रिय गर्न आग्रह गरेको छ ।




प्रतिक्रिया