नेपाल टेलिकमको सिमकार्ड अभाव


बागलुङ – बजारमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ । बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन् । टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ ।

गत चैतयता नै बजारमा सिमकार्ड नआएको चापागाईँ ट्रेर्डसका सञ्चालक सूर्य चापागाईँले बताए । ‘वितरक कम्पनीले कोरोनाका कारण सिमकार्ड आउन ढिलो भएको जनाएका छन्’, उनले भने । चापागाईँका अनुसार प्रिपेडको सिमकार्ड किन्न आउने प्रयोगकर्तालाई दिनदिनै फर्काउनुपरेको छ ।

टेलिकमको सिमकार्ड नपाएपछि प्रयोगकर्ताले अन्य दूरसञ्चार सेवा प्रदायकका सिमकार्ड किन्न बाध्य छन् । बागलुङसहित पर्वत, म्याग्दीका (पिओएस) लाई बन्दाबन्दीपछि सिमकार्ड पठाउन नसकिएको सजिलो इन्टरप्राइजेजका सञ्चालक उषा पौडेलले बताए । एउटै ‘पिओएस’बाट ५०० देखि एक हजार ५०० सम्म सिमकार्ड माग आएको उनको भनाइ छ ।

सिमकार्ड विदेशमा बनेर आउने भएकाले कोरोना र बन्दाबन्दीका कारण समयमा आउन नसकेको बुझिएको छ । टेलिकम कार्यालय बागलुङका वरिष्ठ इञ्जीनियर केशव शर्माले बजारमा आउने सिमकार्डकाबारेमा आफूहरुलाई थाहा नहुने बताए । ‘हामीले कार्यालयबाट नियमित बेच्ने सिमकार्ड त छ’, उनले भने, ‘बजारमा अभाव भएका भए हामीले पनि बुझ्नुपर्छ, कोरोनाका कारण आउन ढिलो भएको पनि हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement