पर्यटन क्षेत्रमा २५ अर्बको क्षति

पर्यटन क्षेत्रमा २५ अर्बको क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेन जीले गरेको प्रदर्शनका कारण देशको पर्यटन क्षेत्रमा अपूरणीय क्षति भएको छ ।

भदौ २३ र २४ गते भएको प्रदर्शनले भौतिक संरचना, मानवीय क्षतिसहित पर्यटन क्षेत्रमा पनि ठुलो क्षति पुगेको हो । पर्यटकीय सिजन सुरु हुनै लाग्दा भएको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनाएको छ ।

आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ पनि प्रतिशत रद्द भएका छन् नेपाल आएका अधिकांश पर्यटक भ्रमण नै पूरा नगरी स्वदेश फर्केका छन्। यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको देशको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको थियो। पछिल्लो विकसित परिस्थितिले पर्यटन क्षेत्रलाई पुनः झस्काएको छ।

पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने आशा व्यक्त गरे। ‘पहिलो कुरा पर्यटकलाई थ्रेट छैन। अब, नकारात्मक हैन सकारात्मक प्रचार–प्रसार गर्न जरुरी छ’, पूर्वसचिव खनालले भने ।

‘पर्यटकीय सिजन पनि सुरु हुनै लागेकाले केही पूर्वाधारमा मात्रै क्षति भएको छ। पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर छैन। यो अवस्था चाँडै सुधार हुन्छु’, उनले भने ।

खनालले यस प्रदर्शनले अर्थतन्त्रमा ठूलो योगदान दिएका क्षेत्रहरू रेमिट्यान्स, कृषि र पर्यटनमा ठूलो समस्या नपारेकाले रिकभर हुन पनि धेरै समय नलाग्ने बताए।

अर्थशास्त्री डा. समिर खतिवडाले एकाध पर्यटकीय पूर्वाधारमा क्षति पुगे पनि पर्यटन क्षेत्र अझै सम्भावना भएको क्षेत्र भएको बताए।

खतिवडाले पर्यटनको आम्दानीमा केही ह्रास आए पनि पर्यटन क्षेत्र चाँडै पुनःरुत्थान हुने विश्वास व्यक्त गरे। ‘विगतमा पनि विपद्पछि चाँडै पुनःरुत्थान भएको अनुभव छ। यसलाई चाँडो पुनःरुत्थानका लागि प्राथमिकता दिनुपर्छ। जेनजी प्रदर्शनले नेपाललाई कोर्स करेक्सनको अवसर दिएको छ। सुशासनयुक्त समाज निर्माणका लागि सन्देश पनि दिएको छ’, उनले भने ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको पर्यटन पुनःरुत्थानका लागि पहल थालिएको बताए। उनले पर्यटन पुनःरुत्थानलाई कसरी प्रभावकारी बनाउने भनेर यस क्षेत्रका अगुवा सङ्गठनहरूसँग छलफल गरेर ड्राफ्ट प्लान बनाएको र यो छिट्टै प्रस्तुतीकरण हुने जानकारी दिए।

उनका अनुसार अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक छन्। उनीहरूमध्ये अधिकांश गन्तव्यमा छन् भने कतिपय पर्यटक यात्रा सकेर स्वदेश फर्किने प्रतीक्षामा छन्। बोर्डले जेनजीको प्रदर्शनका क्रममा होटल र पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ समग्रमा अध्ययनको काम पनि अघि बढाइएको उनले बताए।

बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। अघिल्लो अगष्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको थियो। सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

सन् २०२३ मा १० लाख १४ हजार पर्यटक नेपाल भित्रिए। हालसम्म सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए।

जेनजीको प्रदर्शनको क्रममा झण्डै दुई दर्जन होटलहरूमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ।

सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरू काठमाण्डु उपत्यकासहित पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरूमा तोडफोड, आगजनी र लुटपाट भएको छ।

काठमाण्डुमा रहेको हिल्टन होटलको आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिको छ। हिल्टनसहित देशैभरि करिब २५ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ।