काठमाण्डु – नेपाल र संयुक्त राज्य अमेरिकाबिच सांस्कृतिक सम्पदाको सुरक्षा र अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले बिहीबार सम्झौता भएको छ ।
झण्डै ४ वर्षको गृहकार्य र सहकार्यपछि बिहीबार दुवै देशबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा औपचारिक हस्ताक्षर भएको छ ।
काठमाण्डुमा बिहीबार आयोजित विशेष समारोहमा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठ र अमेरिकाका तर्फबाट राजदूत डीन आर थम्पसनले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त अवसरमा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला र पुरातत्व विभागका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति थियो ।
सम्झौताले नेपालबाट गैरकानूनी रूपमा विदेश पुर्याइएका कलाकृति र पुरातात्विक वस्तुहरूको फिर्ती प्रक्रियालाई थप सहज र संस्थागत बनाउनेछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सम्झौताले नेपालको सांस्कृतिक सम्पदाको सुरक्षाका लागि बलियो कानूनी रूपरेखा तयार गरेको छ । यसले अमेरिकी कला बजारमा अवैध पुरातात्विक वस्तुहरूको प्रवेशलाई प्रतिबन्धित गर्नेछ र संग्रहालय एवं विश्वविद्यालयहरूलाई अभ्यासका लागि प्रोत्साहन गर्नेछ ।
हस्ताक्षर समारोहमा बोल्दै राजदूत थम्पसनले सम्झौताले नेपालको समृद्ध इतिहास र परम्पराप्रति अमेरिकाको गहिरो सम्मान दर्शाएको बताए । ‘यसले अवैध ओसारपसार रोक्न हाम्रो सहयोगलाई सुदृढ गर्नेछ र भावी पुस्ताका लागि नेपालको सम्पदा संरक्षण गर्ने साझा जिम्मेवारीलाई अझ बलियो बनाउनेछ,’ उनले भने ।
सांस्कृतिक पुनर्जागरणको अपेक्षा दूतावासले फिर्ता गरिएका प्रत्येक वस्तुले नेपालको पुन:स्थापित इतिहासलाई तिनका समुदाय र परम्परासँग पुन: जोड्ने विश्वास व्यक्त गरेको छ । सम्झौताले सांस्कृतिक सहयोगको नयाँ अध्याय सुरु गर्दै नेपालको विरासत संरक्षण र उत्सव मनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । संयुक्त राज्य अमेरिकाले यसअघि पनि नेपालबाट चोरी भएका विभिन्न मूर्ति र कलाकृतिहरू फिर्ता गराउन सक्रिय भूमिका खेल्दै आएको छ ।




प्रतिक्रिया