काठमाण्डु – रुसी सेनामा ५३१ जना नेपाली युवा कार्यरत रहेको सार्वजनिक गरिएको छ ।
रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले आज शनिबार पत्रकार सम्मेलन गर्दै १६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका जनाएको छ ।
काठमाण्डुको बत्तिसपुतलीमा शनिबार पत्रकार सम्मेलन गर्दै अभियानको नेतृत्व गरिरहेकी कृतु भण्डारीले सम्पर्कमा आएका पीडित परिवारका आधारमा तथ्यांक तयार पारिएको जानकारी दिइन् ।
उनले भनिन्, ‘रुसी सेनामा गएका युवाका परिवारसँग सम्पर्क गरी विवरण संकलन गरिरहेका छौं, अहिलेसम्म ५३१ जनाको विवरण संकलन भएको छ ।’
हालसम्म पीडित परिवारले दिएको विवरणअनुसार रुसी सेनामा रहेका १६ जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेमा दोलखाका राजकुमार रोका, कैलालीका भरतबहादुर शाही, कास्कीका देवन राई, स्याङ्जाका प्रितम कार्की, इलामका गंगाराम मोक्तान, कपिलवस्तुका रुपक कार्की, गोरखाका सन्दीप थपलिया, दार्चुलाका कुन्दनसिंह नगाल, स्याङ्जाका हरिप्रसाद अर्याल, धादिङका राजकुमार गिरी र पूर्णबहादुर गुरुङ, बाँकेका सञ्जय केसी, लमजुङका साजन गुरुङ र सन्तोष गुरुङ, रसुवाका सुन्दर मोक्ता र दाङका जितबहादुर पुन रहेका छन् ।
रुसी सेनामा भर्ती भएका ११६ जना घाइते भएका बताइएको छ ।
रुसी सेनामा भर्ती भएका २७२ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएका व्यक्तिका परिवारजनले खोजीका लागि पहल गरिदिन विवरण उपलब्ध गराएका उनले बताइन् ।
पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि ज्ञापनपत्र बुझाएका छन् । रुसी सेनामा रहेका युवालाई फिर्ता गर्न, मृतकको शव ल्याउन, घाइतेको उपचार गर्न र स्वदेश फर्काउन, मृतक र घाइतेका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ ।




प्रतिक्रिया