प्रधानसेनापतिद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

प्रधानसेनापतिद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापाले अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान गरेका छन् ।

आज प्रधानसेनापति थापाको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित सि.सं. ५९ अधिकृत क्याडेट तालिम तथा सि.सं.२७ प्राविधिक अधिकृत आधार तालिम सम्पन्‍न भएको छ ।

उक्त अवसरमा सि.सं. २७ प्राविधिक अधिकृत आधार तालिमका १० जना प्राविधिक अधिकृतहरु समेत सम्मिलित भइ सहभागि क्याडेटहरुले उच्च स्तरको आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए ।

उक्त समारोहमा प्रधान सेनापति थापाले सि.सं.५९ अधिकृत क्याडेट तालिमका २३ महिला, १२८ पुरुष तथा ४ विदेशी अधिकृत क्याडेट गरी जम्मा १५५ अधिकृत क्याडेटहरु तथा मित्रराष्ट्र श्रीलंकाको कोलम्बोस्थित जोन कोटेलावाला युनिभर्सिटी (मिलिटरी ऐकेडेमी) बाट डिग्री प्रोग्राम समाप्त गरी स्वदेश फिर्ता भएका सि.सं. ५६ अधिकृत क्याडेट तालिमका २ जना सहित जम्मा १५७ जना अधिकृत क्याडेटहरुलाई उप सेनानी दर्जाको आयुक्त पद प्रदान गरेका थिए ।

सोही अवसरमा प्रधानसेनापति थापाले सि.सं.५९ अधिकृत क्याडेट तालिममा सर्वप्रथम हुने अधिकृत क्याडेट विजय थापालाई ‘बेस्ट अफिर क्याडेट अवार्ड’, अन्तर्राष्ट्रिय अधिकृत क्याडेट तथा महिलातर्फ समेत प्रथम हुने मित्रराष्ट्र केन्याकी बेर्ली अकिन्वी ओपिलालाई ‘दि बेस्ट इन्टरनेशनल अफिर क्याडेट’तथा ‘केन अफ हनर’ र सि.सं.२७ प्राविधिक अधिकृत आधार तालिममा प्रथम हुने प्राविधिक उप सेनानी अर्जुन मगरलाई ‘वेस्ट टेक्निकल अफिसर’ को उपाधी प्रदान गरेका थिए ।

कोभिड–१९ को संभावित संक्रमणलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सम्बन्धि सुरक्षात्मक उपाय अपनाई आयोजना गरिएको उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नवआयुक्त अधिकृतहरुलाई लामो अवधिको कठीन अधिकृत आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी आयुक्त पद प्राप्त गर्न सफल भएकोमा बधाई तथा आगामी सैनिक जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले पठाएको सन्देश समेत वाचन गरेर सुनाएका थिए ।

उक्त सन्देशमा प्रधानमन्त्री ओलीले नवआयुक्त अधिकृतहरुलाई तालिमको सफलतामा हार्दिक बधाई दिँदै तालिमको दौरान क्याडेटहरुले देखाएको सहनशीलता, कठीन परिश्रम र दृढताको प्रशंसा गर्दै राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आईरहेको चर्चा गर्दै संसारभर ‘वीर गोर्खाली’ को देश भन्ने पहिचान बनाएको नेपाली सेनाले अब उक्त पहिचानलाई आधुनिक हातहतियारले सुसज्जित, प्रविधिमैत्री, तालिम एवम् स्रोतसाधन सम्पन्न, उच्च हौसलायुक्त, उत्कृष्ट सेनाको रुपमा आफूलाई स्थापित गर्नुपर्ने बताएका थिए ।

आज केन्या, माल्दिभ्स, श्रीलंका र जाम्वियाका गरी ४ जना विदेशी अधिकृतहरुले आयुक्त पद प्राप्त गरेका छन् भने विगत आठ बर्षमा उक्त प्रतिष्ठानबाट विभिन्न राष्ट्रहरुका १९ जना विदेशी अधिकृतहरुले तालिम प्राप्त गरिसकेका छन् ।