बाढी पहिरो पिडितहरुको उद्धारमा नेपाली सेना

बाढी पहिरो पिडितहरुको उद्धारमा नेपाली सेना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाढी–पहिरो पिडितहरुको खोज, उद्धार तथा रातह वितरणका कार्यमा नेपाली सेना परिचालन भएको छ । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी बाढी र पहिरोले प्रभावित जिल्लाहरुमा सेनाको टोली खोज, उद्धार र राहत वितरण कार्यमा जुटिरहेको जानकारी दिएको हो ।

चितवन जिल्लाको शक्तिखोर, न्युरो, लाहुरेचोक, क्लबचोक र विघा ईलाकामा बाढीका कारण डुबानमा परेका स्थानीयवासीहरुलाई नेपाली सेनाको उद्धार टोलीद्वारा उद्धार गरेको छ । साथै, सोही जिल्लाको, राप्ती नगरपालिका वडा नं.१२ स्थित पर्खालेको पहिरोमा पुरिएका ४ जनाको शव निकाल्ने कार्यको लागि परिचालन भएको सेनाको उद्धार टोलीले १ जनाको शव निकालेको र हराईरहेका अन्य ३ जनाको खोजी कार्य जारी राखेको छ ।

सेनाले सुनसरी जिल्ला, ईटहरी उप–महानगरपालिका, ईनरुवा नगरपालिका, कोशी, हरिनगरा र भोक्राहा नरसिंह गाउँपालिका आसपासका ईलाकाहरुमा बाढीले बगाएर ल्याएको फोहोरहरु पुलमा जम्मा भई आसपासका बस्तीहरु डुबानमा परेकोले  सेनाको उद्धार टोलीले उक्त फोहोरहरु हटाई थुनिएको खोलालाई खोलेको छ । साथै, भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ आसपासका ईलाकाहरुमा सुनसरी खोलामा आएको बाढीले बांध भत्किएर गाउँ बस्तीमा खोला पस्ने सम्भावना भएकोले नेपाली सेनाको उद्धार टोलीले स्थानिय जनताको सहयोगमा बांध मरामत गरेका छन् ।

रौतहट जिल्ला, राजदेवी नगरपालिका वडा नं.९ स्थित नं.१ र नं.२ ठोकरमा कटान भएकोले नेपाली सेनाको उद्धार टोलीले उक्त कटान नियन्त्रणको लागि स्याण्डब्याग बोरीको सहायताले पुनः निर्माण कार्य गरेको छ । काभ्रेपलान्चोक जिल्ला, धुलिखेल नगरपालिका वडा नं.११ स्थित फसकोट ईलाकामा पहिरोका कारण ३ वटा घर जोखिममा परेको हुंदा नेपाली सेनाको उद्धार टोलीले उक्त घरका सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ ।

सिरहा जिल्ला, सिरहा नगरपालिका वडा नं.६, बसबिट्टा स्थित हुलाकी राजमार्ग जोडिने पुल आसपासको ईलाकामा कमला नदीमा आएको बाढीले पानीको बहाव बढ्न गई सिरहा बजारमा डुबानको जोखिम रहेकोले नेपाली सेनाको उद्धार टोलीले नदीको तटबन्ध माथिबाट पानी पस्न सक्ने सम्भावित ईलाकाहरुमा करिब २०० वटा बोरा व्यवस्थित तरिकाले राखी पानीको बहाव नियन्त्रण गरेको छ । साथै, कमला नदीमा बाढीको सम्भावना रहेकोले उक्त नदीको नजिक बस्ने १ जनालाई सेनाको उद्धार टोलीले उद्धार गरि प्रहरीको रोहवरमा आफन्तलाई बुझाएको नेपाली सेनाले जनाएको छ ।