कङ्गोको बिश्‍वास जित्दै वुनियामा नेपाली शान्ति सैनिकको पुनः तैनाथी

कङ्गोको बिश्‍वास जित्दै वुनियामा नेपाली शान्ति सैनिकको पुनः तैनाथी


काठमाण्डु – नेपाली शान्ति सैनिक संयुक्त राष्ट्र संघीय मिशन वुनियामा पुनः पठाइएको छ । करिव १७ वर्ष अघि कङ्गोको उत्तरी भेगमा रहेको बुनियांमा हेमा र लेण्डु जातिहरुबीचको हिंसाका कारण सुरक्षा स्थिति भयावह भएपछि नेपाली शान्ति सैनिकहरुलाई पहिलो पटक उक्त क्षेत्रमा तैनाथ गरिएको थियो ।

तत्पश्चात सुरक्षा स्थितिमा सुधार आएपछि नेपाली शान्ति सैनिकहरु द्वन्द्वग्रस्त कङ्गोको मध्य क्षेत्रमा रहेको वेनी ईलाकामा र गत केही वर्षदेखी दक्षिण क्षेत्रमा रहेको बालुगुं ईलाकामा तैनाथ भएका थिए । विगत केही महिनादेखि कोडेको नामको विद्रोही समूहले वुनिया क्षेत्रमा हिंसा मच्चाएपछि नेपाली शान्ति सैनिकहरुलाई बालुगुंबाट ७०० कि.मि. उत्तरदेखि स्थानान्तरण गरि पुनः वुनिया क्षेत्रमा तैनाथ गरिएको सेनाले जनाएको छ ।

ईटुरी क्षेत्रका मेयर जीन वमाईन्सा साईडिले उक्त क्षेत्रमा तैनाथ भवानीदल गणका गणपति प्रमुख सेनानी प्रभाकर खड्कासंगको भेटघाटमा नेपाली शान्ति सैनिकको वुनिया क्षेत्रमा भएको आगमनले स्थानिय जनता हर्षित एंव आश्‍वस्त भएको तथा त्यस क्षेत्रको सुरक्षा स्थितीमा सुधार आउने कुरामा आफु विश्वस्त रहेको धारणा व्यक्त गरेका छन् ।

त्यस अवसरमा उनले विगतमा ईटुरी क्षेत्रको वुनिया लगायत फताकी, अभेवा, वोगोरो ईलाकाहरुमा क्रियाशिल तत्कालिन विद्रोही समुहहरुविरुद्ध नेपाली शान्ति सैनिकहरुले संचालन गरेको विभिन्न सफल सैनिक कारवाहीहरुको स्मरण समेत गरेका थिए ।

कङ्गोस्थित संयुक्त राष्ट्र संघीय मिशनको उच्च नेतृत्वले विगतमा नेपाली शान्ति सैनिकले यस क्षेत्रमा छाडेको राम्रो छाप र जितेको विश्‍वासको परिणामस्वरुप नेपाली शान्ति सैनिकलाई पूनः त्यस क्षेत्रमा तैनाथ गराईएको जनाएको छ ।

सन् २००५ मा यसै क्षेत्रमा मानव अधिकार हनन् सम्बन्धी अनुसन्धानमा खटिएको संयुक्त राष्ट्रसंघको टोलीलाई विद्रोहीहरुको आक्रमणबाट जोगाउने क्रममा सेनानी कविन्द्र जंग थापाले कर्तब्य पालनको शिलसिलामा वीरगती प्राप्त गरेका थिए । उनको बहादुरी एवं कर्तव्यपरायणताको संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव वान की मुन लगायत अन्तराष्ट्रिय समुदायले खुलेर प्रशंसा गरेका थिए ।

संयुक्त राष्ट्र संघले सदाझैं नेपाली सेनाको पेशागत क्षमताको उच्च मुल्याङ्कन गर्दै नेपाली सेनालाई पुनः चुनौतीपूर्ण जिम्मेवारी सुम्पिएको नेपाली सेनाले विश्‍वास गरेको छ ।