‘एसएमजी’ चोरी प्रकरण : सैनिक विशेष अदालतमा सुनुवाइ हुँदै, आरोपित गुरुङ र तामाङले पाउलान् सफाई ?


काठमाण्डु – नेपाली सेनाको हतियार ‘एसएमजी’ चोरी प्रकरण मुद्धामा आज सुनुवाई हुँदैछ । चितवन स्थित सेनाको कालीबहादुर गणबाट ०७५ पुस ३ मा हराएको स्वचालित सट मेशिन गन (एसएमजी) कसले चोरी गरेको हो भन्ने विषयमा विशेष सैनिक अदालतमा सुनुवाई हुन लागेको हो ।

हतियार चोरेको आरोपमा कालीबहादुर गणका अमलदार लव कुमार गुरुङ र जवान सरोज तामाङ २८ महिनादेखि कारागार कार्यालय भरतपुरमा थुनामा छन् ।

२०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतका तत्कालीन अध्यक्ष (उपरथी) सहदेव खड्काले सैनिक ऐन–०६३ अनुसार हतिरयार चोरीको आरोपमा उदयपुर घर भएका गुरुङलाई १० वर्ष र मोरङ सुन्दरहरैँचा घर भएका तामाङलाई ७ वर्ष कैद सजाय गर्ने फैसला सुनाएका थिए ।

सैनिक अदालतको उक्त निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए ।  सेनाका आन्तरिक अनुसन्धापछि उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत अर्का सैनिक जवान गंगाधर ढकालको साथमा फेला परेको छ ।

ढकालले साउन ७ मा चितवनमा हुँदा भरत गुरुङलाई सो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । भरत गुरुङको हत्या आरोपमा पक्राउ परेका ढकाललाई चितवन जिल्ला अदालतले सैनिक अदालतको जिम्मा लगाएको छ ।

उनलाई जंगी अड्डास्थित आन्तरिक थुनामा राखिएको छ । चोरी प्रकरणमा ट्विस्ट आएपछि जंगी अड्डाले कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानविन समिति’ चितवन पठाएर छानविन गरेको थियो । महा–सेनानी नेतृत्वको समितिले भदौ ११ अघि नै छानविन प्रतिवेदन बुझाइसकेको छ ।

इन्क्वायरी बोर्डले हतियार सैनिक जवान ढकालले नै चोरेको पुष्टि भएको प्रतिवेदन जंगी अड्डामा बुझाएको छ । सैनिक जवान गंगाधर ढकालले सेनाले गरेको कोर्ट मार्सलमा हतियार आफैंले चोरेको स्वीकारेका छन् । हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement