नेपाली सेनाले भन्यो- अमेरिकासँग एसपीपीबारे सम्झौता भएको छैन, गर्न पनि हुँदैन

नेपाली सेनाले भन्यो- अमेरिकासँग एसपीपीबारे सम्झौता भएको छैन, गर्न पनि हुँदैन


काठमाण्डु – नेपाली सेनाले एसपीपी सम्बन्धी सेनालाई जोडेर आएका समाचारहरुमा ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको हो ।

अमेरिकी दूतावासका अधिकारीहरुले एसपीपी सम्झौताका लागि नेपाली सेना आफैंले आग्रह गरेको बताइरहेका बेला नेपाली सेनाले त्यस्ता कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको स्पष्ट पारेको छ ।

‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनैतिक अवस्थिती एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत छ,’ सेनाले विज्ञप्तिमार्फत भनेकाे छ ।