काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिवका सल्लाहकार जनरल ब्रियाम डिओप नेपाल आइपुगेका छन् ।
राष्ट्रसंघ स्थापना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको २ दिने विशेष कार्यक्रममा सहभागी हुन ब्रियाम आइतबार काठमाण्डु आएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपत्यका पृतना हेड क्वार्टरका पृतनापति उपरथि योगराज शर्माले स्वागत गरेका थिए । आजै काठमाण्डु आइपुगेका उनले सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका हुन् ।
जंगी अड्डास्थित शर्माको कार्यकक्षमा भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा र्पुयाएको योगदान र भविष्यमा समेत नेपाली शान्ति सैनिकहरुको आवश्यकता तथा सहभागिताबारे छलफल भएको नेपाली सेनाले बताएको छ ।
छलफलका क्रममा जनरल डिओपले नेपाली शान्ति सैनिकहरुले विभिन्न शान्ति मिशनमा र्पुयाएको योगदानको उच्च प्रशंसा गर्दै यसलाई आगामी दिनहरुमा पनि निरन्तरता मिल्ने बताए ।
प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोग र अवसरको लागि धन्यवाद दिएका थिए । उनले यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै नेपाली सेना अझ पेशेवर रुपमा प्रभावकारी ढंगबाट शान्ति मिशनमा खटिने कटिवद्धता व्यक्त गरे ।
राष्ट्रसंघ मुख्यालयको उच्चस्तरीय भ्रमण तथा भेटघाटले नेपाल र नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनामा र्पुयाएको योगदानको अन्तराष्ट्रिय जगतबाट उच्च मुल्याङ्कन भएको विश्वास नेपाली सेनाले लिएको छ ।




प्रतिक्रिया