काठमाण्डु – नेपाली सेनाले नेपाल प्रहरीलाई १० हजार हतियार हस्तान्तरण गरेको छ । सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन् ।
सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नेपाल प्रहरीलाई हतियार, एम्युनिशन तथा सम्बद्ध सामग्री हस्तान्तरण गरेको जानकारी दिए । हस्तान्तरण गरिएका हतियारमा इन्सास राइफल, एसएलआरलगायत छन् । प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि हस्तान्तरण गरिएको सेनाले जनाएको छ । गत जेठ १७ गत बसेको मन्त्रिपरिषद बैठकले सेनाले निःशुल्क रुपमा नेपाल प्रहरीलाई उक्त हतियार दिने निर्णय गरेको थियो ।
निर्णय बमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिइ मा विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरि जम्मा १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने प्रवक्ता पौडेलले जानकारी दिए ।
उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल बैशाख महिनासम्ममा हस्तान्तरण गरिने छ । उपलव्ध गराईएका हतियारहरुको मर्मत तथा प्रयोगको तालिम समेत नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको उनले बताए ।




प्रतिक्रिया