नेपाली भूमि कालापानी फिर्ता ल्याउन राप्रपाको माग


दार्चुला – राप्रपा दार्चुलाले नेपाली भुमी कालापानीलाई फिर्ता ल्याउन माग राख्दै प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ सुत्रीय मागसहित ज्ञापन पत्र बुझाएको छ ।

कालापानी, लिपुलेक र सुस्ता लगायतका क्षेत्रमा अतिक्रमित नेपाली भुमी फिर्ता लिन कुटनीतिक पहल गर्न जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रिको कार्यालयलाई ज्ञापन बुझाएको जिल्ला कार्य समिति अध्यक्ष विरसिह बडालले जानकारी दिए ।

संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गर्न तथा पुर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सरकार समक्ष ज्ञापन मार्फत माग गरिएको उनले बताए । पार्टीको झण्डा हातहातमा बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका अध्यक्ष सहितको टोलीले राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न, संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न, देश टुक्र्याउन चाहने विखण्डनकारी तत्वलाई कडाईका साथ नियन्त्रण गरि राष्ट्रिय अखण्डता सुदृढ तुल्याउन माग गरेको छ ।

यस्तै संगठीत रुपमा लोभ लालच देखाएर र भ्रम सिर्जना गरेर जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न तथा धर्म परिवर्तनमा संलग्न गैर सरकारी संस्थाहरुलाई बन्द गर्न, वेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यान्वयन गर्न, भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न, महंगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गर्न लगायतका विभिन्न २२ सुत्रीय माग राख्दै ज्ञापन बुझाएको उनले बताए ।

यसैविच जिल्ला कार्य समितिको उपाध्यक्षमा गणेश सिह सामन्त र महिला सदस्यमा मञ्जु कुवरलाई मनोनित गरिएको अध्यक्ष बडालले बताए ।यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement