काठमाण्डु – नेपाली कांग्रेसले केरुङ नाका खोल्न सरकारसँग माग गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणका कारण बन्द भएको करुङ नाका खुला गर्न माग गरेका हुन् ।
‘चिनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो । तर तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेकोे हुंदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ’, उनले भनेका छन् ।
केरुङ नाका ०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको छ । तर, दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र गर्दै आइरहेका छन् ।
उनले नाका बन्द भएपछि नेपाली व्यवसायीहरु मर्कामा परेको बताएका छन् । प्रवक्ता शर्माले राज्यकै राजस्व संकलनमा पनि असर पुगेको बताएका छन् । उनले चिनियाँ पक्षसँग यथासिघ्र संवाद गरेर समस्याको समाधान खोज्न सरकार समक्ष माग गरेका छन् ।





प्रतिक्रिया