काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अलमलमा परेको छ । फागुन ७ देखि १० गतेसम्मका लागि तय गरिएको महाधिवेशन अलपत्र परेको हो ।
महाधिवेशनको मिति नजिकिरहँदा पार्टी क्रियाशील सदस्यको टुंगो लागिसकेको छैन् । ७७ वटै जिल्लामा क्रियाशील सदस्यता वितरणको काम टुंगो नलागेकाले महाधिवेशन अझै एक वर्ष धकेलिने कांग्रेस नेताहरुको आशंका छ ।
सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्न आलटाल गरेको कांग्रेस नेताहरुको आरोप छ । सभापति देउवाले महाधिवेशनबारे कुनै पहल नगरेको कांग्रेस नेता प्रकाशमान सिंहले जानकारी दिए ।
उनले सभापति देउवाको नियतमाथि नै प्रश्न उठाएका छन् । नेता सिंहले देउवा महाधिवेशन नगराउने नियतका साथ प्रस्तुत भएको आरोप लगाए । उनले निर्वाचन अगाडि कांग्रेस महाधिवेशन सम्भव नभएको बताए ।
‘पार्टी सपापतिले काम गर्नसक्नुभएन । महाधिवेशन सदस्यको टुंगो लगाउने र ७७ जिल्लाको क्रियाशील सदस्यता कटकमा राखेर विधि र नियम पूरा गरेकाहरुलाई सदस्यता वितरण गरिहालौं भन्ने हाम्रो काम हो । विवादित क्रियाशील सदस्यता छानबिन गर्नुपर्ने थियो त्यसलाई निरन्तरता दिइराखौं’, उनले भने, ‘कांग्रेसको महाधिवेशनलाई क्रियाशील सदस्यता त निर्वाचन आयोगलाई भोटरलिष्ट चाहिए जस्तै हो । यो लिष्टलाई फाइनल गरौं भन्ने कुरामा जोड दिएको हो । सभापतिले आलटाल–आलटाल गरिराख्नु भएको छ । पार्टी सभापतिको नियत के देखियो भने सकेसम्म महाधिवेशन धकेल्दै जाने ।’
कांग्रेस सचेतक पुष्पा भुसालले क्रियाशील सदस्यता वितरणको काम टुंगो नलागेकाले महाधिवेशनको मिति टुंगो नलागेको बताइन् ।
देउवाविरुद्ध मोर्चाबन्दी !
सभापति देउवाले महाधिवेशन गर्न रुची नदेखाएको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टी जनाइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरुले देउवाको महाधिवेशन नगर्ने नियत प्रष्ट भएको आरोप लगाइरहेका छन् ।
शीर्ष नेताहरुले आगामी केन्द्रीय कार्यसमितिको बैठकमा देउवालाई दबाब दिने तयारी गरेका छन् । उनीहरुले महाधिवेशन गर्न कुनै पहल कदमी नगरेको र लामो समय बितिसक्दा पनि क्रियाशील सदस्यताको विषय टुंगो लगाउन पहल नगरेको आरोप लगाएका छन् ।
‘सभापतिजी महाधिवेशन धकेलेर आफैं पार्टीको नेतृत्व गर्ने मनस्थितिमा हुनुहुन्छ । तर, हामी त्यो पूरा गर्न दिँदैनौं । केन्द्रीय समितिको बैठकमा नेताहरुले देउवालाई दबाब दिने तयारी गरिरहनु भएको छ’, कांग्रेसका एक नेताले भने ।
कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंहले दाबी गरिरहेका छन् ।
पछिल्लो समय बिमलेन्द्र निधिको सभापतिमा उठ्ने घोषणले कांग्रेसमा तरंग ल्याएको छ । मधेशबाट पार्टी नेतृत्व गर्दै भावी प्रधानमन्त्रीका रुपमा आफूलाई निधिले उभ्याउन खोजेको चर्चा कांग्रेसमा छ ।
के छ विधानमा व्यवस्था ?
संविधानतः महाधिवेशनको म्याद ६ महिना थप गर्न मिल्छ । विधानमा भएको व्यवस्थाअनुरुप नियमित रुपमा कांग्रेसको महाधिवेशन गत फागनु १९ गतेभित्र उद्घाटन भइसक्नु पथ्र्याे । देउवा नेतृत्वको कार्यसमितिको विधानमा उल्लेख भएको ४ वर्षे कार्यकाल फागुन १९ मा सकिएको थियो ।
कोरोना महामारीका कारण निर्धारित मितिमा महाधिवेशन गर्न नसक्ने भन्दै कार्यसमितिको म्याद थप्ने र मिति सार्ने तयारी गरेको छ । संविधानतः अब कांग्रेसले १३ औं महाधिवेशनबाट निर्वाचित समितिहरुको म्याद फागुन १९ देखि ६ महिना मात्रै थप्न सक्छ ।
नेपालको संविधान २०७२ को धारा २६९ को उपधारा ४ (ख) मा ‘राजनीतिक दलको विधानमा कम्तिमा पाँच वर्षमा एकपटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ, तर विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिनेगरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ भन्ने उल्लेख छ ।
संविधानको यही व्यवस्था प्रयोग गरेर ६ महिना कार्यसमितिको म्याद थप्ने र त्यही समयभित्र महाधिवेशन गर्ने तयारी कांग्रेसको छ ।




प्रतिक्रिया