सरकारमा जाने विषयमा कांग्रेसले भन्योः इञ्जुरी समयमा गोल गर्छौं

सरकारमा जाने विषयमा कांग्रेसले भन्योः इञ्जुरी समयमा गोल गर्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले पर्ख हेरको नीति अवलम्बन गरेको छ । बिहीबार साँझ बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारमा जाने विषयमा पर्ख र हेरको नीति अवलम्बन गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्ड–माधव नेपालसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउनुपर्ने धारणा राखेका थिए । तर, बहुमत सदस्यले अहिले नै हतारो गर्न नहुने बताएका थिए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस विवेकसम्मत रुपमा ठिक ढंगले निर्णयमा पुग्ने र इञ्जुरी समयमा गोल गर्ने बताए ।

‘कांग्रेस विवेकसम्मत रुपमा ठिक ढंगले निर्णयमा पुग्छ । कांग्रेसले इञ्जुरी समयमा गोल गर्नेछ’, प्रवक्ता शर्माले भने, ‘अपेक्षाका साथ नेकपाको ओली समूह र प्रचण्ड नेपाल समूहले सबैले चासोका साथ हेरिरहनु भएको छ । प्रधानमन्त्री पदले ढोका ढकढकाइरहेको छ । तर, प्रधानमन्त्री पदलाई ग्रहण गरिसकेको अवस्था छैन । हामी संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौँ ।’

उनले सरकार र प्रतिबन्धित विप्लव समूहसँग भएको सम्झौताको स्वागत काँग्रेसले गरेको बताउँदै विप्लव समूहले पनि संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । वार्ता र सहमतिका क्रममा सरकारले प्रतिपक्षी र अरु दलहरूलाई पनि विश्वासमा नलिएको शर्माले बताए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाण, काँग्रेस राष्ट्रिय सभाका नेता राधेश्याम अधिकारी, मिनेन्द्र रिजाल,नेता दिलेन्द्र बडू, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत सहभागी थिए ।