कांग्रेसमा भद्रगोल : न सरकारतिर, न महाधिवेशनतिर

कांग्रेसमा भद्रगोल : न सरकारतिर, न महाधिवेशनतिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले गत प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेर प्रमुख प्रतिपक्षी दल बनेदेखि नै पार्टीभित्र विवाद छ । विवाद मात्रै छैन, नेपाली कांग्रेस अलमलमा परेर अनिर्णयको बन्दी बनिरहेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेपाली कांग्रेसलाई वैकल्पिक सरकारको नेतृत्व गर्ने मौका समेत छ । तर कांग्रेसले कुनै निर्णय लिन सकेको छैन । प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) कांग्रेसको निर्णय पर्खेर बसेका छन् ।

कांग्रेसले औपचारिक निर्णय नगरेपनि सभापति शेरबहादुर देउवा भने सरकार बनाउने चक्करमा लाग्ने देखिँदैन । मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस सरकारमा नजाने स्पष्ट पारे । ‘कांग्रेसले सरकार बनाउँदैन, विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन,’ सभापति देउवाले भने, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’

नयाँ सरकार निर्माणमा मात्रै होइन, पार्टीकै महाधिवेशन गर्न समेत कांग्रेस सक्रिय हुन सकेको छैन । कार्यतालिका फेरबदल र संशोधन गर्दै १४ औं महाधिवेशनको मिति सार्नमै कांग्रेस पदाधिकारी ठिक्क देखिएका छन् ।

२०७६ पुस ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २०७७ फागुन ७–१० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि कांग्रेसले केही पनि काम गर्न सकेन । कोरोना भाइरस संक्रमणको महामारीलाई देखाउँदै महाधिवेशनको मिति सारियो । अब भदौ ७ गतेदेखि महाधिवेशन गर्ने गरी नयाँ मिति तोकिएको छ ।

पार्टी विधान अनुसार सभापति शेरबहादुर देउवाको नियमित कार्यकाल गत वर्ष फागुन १९ गते नै सकिएको हो । देउवाले १ वर्ष म्याद थपेर २०७७ फागुन १९ गतेसम्म कार्यकाल पु¥याएका थिए । तर फागुनमा महाधिवेशन नभएपछि संविधानको सहारा लिएर ६ महिना म्याद थपेर भदौसम्म पु¥याइएको छ । आगामी भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यता छ ।

२०७६ पुसदेखि महाधिवेशन केन्द्रित भएको कांग्रेस हालसम्म क्रियाशील सदस्यताको टुंगो समेत लगाउन सकेको छैन । कार्यतालिका संशोधन गर्ने र महाधिवेशन सार्नेमै सीमित रहेको कांग्रेसको क्रियाशील सदस्यताको टुंगो कहिलेसम्म लाग्ने हो कुनै यकिन छैन । महाधिवेशनका लागि क्रियाशील सदस्यताको टुंगो लाग्नु प्राथमिक कार्य हो ।

संशोधित कार्यतालिका अनुसार क्रियाशील सदस्यता नवीकरण र वितरणका लागि चैत १० गतेसम्मको समय तोकिएको थियो । तर सदस्यताको काम सकिएको छैन । सोमवारसम्म हुम्ला र पाल्पाबाहेक कुनै जिल्लाबाट सदस्यताको विवरण पार्टी केन्द्रीय कार्यालयमा पुगेको छैन । बारा, पर्सा, सिराहा, सप्तरी, धनुषा, डोल्पा, सिन्धुपाल्चोक सहितका ९ जिल्लामा क्रियाशील सदस्यता वितरण र नविकरणको काम सुरू समेत भएको छैन ।

८ जिल्लाका १३६ स्थानबाट मात्र हालसम्म सदस्यता वितरण र नवीकरणको विवरण सफ्टवेयरमा प्रविष्ट भइरहेको छ । सोमवार दिउँसो २ बजेसम्म १ लाख ८० हजार २७५ जनाको नयाँ सदस्यता दर्ता भएको र २ लाख १२ हजार ५१९ जनाको नवीकरण भएको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।

भदौका लागि तोकिएको महाधिवेशनको कार्यतालिका अनुसार समेत काम पूरा नहुने भएपछि कांग्रेस महाधिवेशन संकटमा पर्ने देखिएको छ । अर्काेतिर देशमा उत्पन्न राजनीतिक संकटका बेला कांग्रेसले त्यतातिर पनि जुनसुकै बेला सक्रिय हुनुपर्ने हुनसक्छ । तर कांग्रेस नेतृत्व सुस्त, ढिलासुस्ती र अलमलमा देखिएको छ ।

तोकिएको मितिसम्म क्रियाशील सदस्यताकै काम पूरा नभएपछि फेरि कार्यतालिका संशोधन गर्न कांग्रेसले चैत २० गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी, पूर्व पदाधिकारी र सदस्यता छानबिन समितिको बैठकले संशोधित कार्यतालिका प्रस्ताव गर्न सदस्यता छानबिन समितिलाई आग्रह गरेको छ ।

सरकार गठन र महाधिवेशनबारे पार्टी नेतृत्वले स्पष्ट निर्णय नलिँदा नेता कार्यकर्ता समेत अन्योलमा पर्ने गरेका छन् । सभापति देउवा पक्ष दुवै कुरामा सुस्त देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छिट्ट्रै नयाँ सरकार बनाउनुपर्ने र महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै आएको छ । तर कांग्रेस पार्टीमा अलमल, अन्योल, अनिश्चितता र भद्रगोल कायमै छ ।