संसद अधिवेशन अन्त्यप्रति कांग्रेसको आपत्ति, विधेयक अलपत्र पारेको आरोप

संसद अधिवेशन अन्त्यप्रति कांग्रेसको आपत्ति, विधेयक अलपत्र पारेको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अन्य राजनीतिक दलहरुसँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनस्र्थापित गरी संसद चलिरहेको अवस्थामा संसदका पदाधिकारी र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग कुनै परामर्श एवं सुझाव नलिई एकलौटी ढंगले सरकारले प्रतिनिधि सभाको सातौं चालु अधिवेशनलाई अप्रत्याशित र हठात ढंगले अन्त्य गरेको प्रति आपत्ति प्रकट गरेका छन् ।

‘संसद कानून बनाउने र जनताको आवाज उठाउने साझा थलो हो । सरकारको निर्माण संसदबाट हुन्छ र सरकार संविधान, जनता र संसद प्रति उत्तरदायी हुनु पर्दछ, तर उत्तरदायी देखिएन’, विज्ञप्तिमा भनिएको छ, ‘संसदमा महत्वपूर्ण विधेयकहरु पास भई कानूनहरु बनाउनु पर्ने, जनसरोकारका महत्वपूर्ण विषयहरुलाई सम्बोधन गरी जनतालाई भरोषा र विश्वास दिलाउनु पर्नेमा संसदीय अभ्यास र परम्परा विपरित सरकारले संसदको सामाना गर्न नसकेर अस्वभाविक ढंगले प्रतिनिधि सभाको चालु अधिवेशनलाई अन्त्य गरेकोमा नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ ।’