बानेश्वरमा कांग्रेसका तीन नेताबीच ‘लञ्च मिटिङ’, देउवाको विकल्पबारे छलफल

बानेश्वरमा कांग्रेसका तीन नेताबीच ‘लञ्च मिटिङ’, देउवाको विकल्पबारे छलफल


काठमाण्डु – नेपाली कांग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ । सोमबार नयाँ बानेश्वरमा १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको हो ।

स्रोतकाअनुसार निधिले सभापतिमा आफूलाई सहयोग गर्न नेताहरुसँग आग्रह गरेका छन् । उपसभापति  निधिको प्रस्तावपछि नेता सिंहले आफू पनि सभापतिमा दाबेदार रहेकाले सहयोग गर्न आग्रह गरेका थिए ।

तीन नेताबीच पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वमा दोस्रो तहका नेताहरुलाई ल्याउनुपर्ने विषयमा छलफल भएको हो ।निधिका प्रेस संयोजक रामजी दाहालले १४ औं महाधिवेशन, सरकार गठनलगायतका विषयमा छलफल जानकारी दिए ।

‘आजको छलफलमा तीनै जनाले आ–आफ्नो भनाई राख्नु भयो । पार्टीभित्र निरन्तर छलफल जारी राख्ने सहमतिका साथ उहाँहरु छुट्नुभएको हो’, एक कांग्रेस नेताले भने ।

उनीहरुबीच सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुसँग भेट गर्ने र महाधिवेशनका विषयमा छलफल गर्ने समझदारी बनेको छ ।

आगामी भदौमा हुने १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारी गरेका निधिले नेताहरुसँगको छलफललाई तिव्रता दिएका हुन् । उनले यसअघि कृष्णप्रसाद सिटौलासहितका नेताहरुसँग छलफल गरिसकेका छन् ।

उनले सभापति शेरबहादुर देउवाको काउण्टरमा उम्मेद्वारी दिने बताइसकेका छन् । शनिबार भएको छलफलमा उपसभापति निधिले सभापतिमा आफू उठ्ने भन्दै सहयोग गर्न देउवालाई आग्रह गरेका थिए ।