१४ औं महाधिवेशन : कस्तो नेतृत्वको खोजीमा छ कांग्रेस ?

१४ औं महाधिवेशन : कस्तो नेतृत्वको खोजीमा छ कांग्रेस ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका आगामी भदौ १६ देखि १९ गतेसम्मका लागि तोकिएको छ । महाधिवेशन नजिकएसँगै कांग्रेसमा सभापतिको दौडमा आधा दर्जनभन्दा बढी नेता रहेका छन् ।

नेतृत्वको दौडमा वहालवाला सभापतिसहित वरिष्ठ नेताहरु रहेका छन् । हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र कृष्णप्रसद सिटौलासहितका नेताहरु आकांक्षी देखिएका हुन् ।

सभापतिमा पहिलो पुस्ताका नेताहरु नै आकांक्षी देखिएपनि कांग्रेसभित्र सक्षम र युवा नेतृत्वको खोजी हुन थालेको छ । पहिलो पुस्ताका नेताहरुको नेतृत्व शैली सन्तोषजनक नरहेको भन्दै नेताहरुले कांग्रेस हाँक्नका लागि सक्षम नेतृत्वको खोजी हुन थालेको बताएका छन् ।

पूर्व मन्त्री तथा कांग्रेस नेता मीन विश्वकर्माले १४ औँ महाधिवेशनबाट परिवर्तनकारी र दूरदर्शी नेतृत्व पाउनु पर्ने बताए ।

उनले भने, ‘नेपाली काँग्रेस पार्टी मुलुककै सबै भन्दा पुरानो पार्टी, लोकतान्त्रीक पार्टी, क्रान्ति, आन्दोलन र परिवर्तनको पार्टी हो । यो पार्टीलाई हाँक्न अनुभवी लामो योगदान गरेको, परिपक्व, समन्वयकारी भूमिका गर्न सक्ने नेतृत्व आउन आवश्यक छ ।’

वर्तमान सभापति शेरबहादुर देउवा सफल नेतृत्वकर्ता भएको बताउँदै नेता विश्वकर्मीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र देशको नेतृत्व गर्न सक्ने नेता आवश्यक भएको बताए ।

‘आज सम्मको हाम्रो जस्तो पृष्ठभूमि छ त्यही अनुसारको नेतृत्वको अपेक्षा गर्दछौँ । अन्य दललाई पनि समन्वय गर्न सक्ने, पार्टी भित्र सबैलाई समान व्यवहार गरेर क्षेत्र, जाती वर्ग भन्दा माथि उठेर , सबै जातीलाई, सबै धर्म , सबै संस्कृतीको सम्मान र समन्वय गर्न सक्ने राजनीतिक प्रतिबद्धता र विकासको योजना भएको नेता नेपाली कांग्रेसलाई आवश्यक छ’, उनले भने ।

नेता विश्वकर्माले अगाडि थपे, सभापति देउवा २०५२ सालमा प्रधानमन्त्री बनेको मिति देखि अहिलेसम्म सामाजिक रूपान्तरण र आर्थिक क्रान्तिका लागि उहाँले जहिलेपनि आफू सक्षम नेताको रुपमा स्थापित गराउनु भएको छ । यो मैले भाषा मिलाएर भनेको हैन । उहाँले गरेको विकास र नेतृत्वको तुलनामा भनेको हो । त्यसकारण सभापति देउवा एवम् देउवा जस्तै नेतृत्व १४ औँ महाधिवेशनबाट आउन हुने अपेक्षा गरेको छु ।’

यता कांग्रेसका अर्का नेता दिव्यमणि राजभण्डारीले कांग्रेसमा अहिले सम्म सक्षम नेता नभएको दाबी गरे । उनले १४ औँ महाधिवेशनबाट संस्थाको विकास, समग्र नेतृत्व गर्न सक्ने नेता आउनुपर्ने बताउँदै नयाँ पुस्तालाई पनि पालो दिनु पर्ने बताए ।

‘अहिले सम्म कांग्रेसमा नेतृत्व गर्न सक्ने नेता मैले देखेको छैन । तर १४ औँ महाधिवेशनबाट संस्थाको विकास गर्ने, समग्र नेतृत्व गर्न सक्ने नेता आउनु पर्छ । कांग्रेसमा नयाँ पुस्तालाई पनि पालो दिनु पर्छ’, नेता राजभण्डारीले भने ।

देउवाको विकल्प

शेरबहहादुर देउवालाई नेतृत्वमा दोहोर्याउन नहुने पक्षमा कांग्रेस नेताहरु देखिएका छन् । देउवानिकट मानिएका उपसभापति विलेन्द्र निधिले नै सभापतिमा आकांक्षा देखाएका छन् ।

उनले देउवालाई सभापतिमा नउठ्न सुझाव दिइसकेका छन् । त्यस्तै नेता निधिले अन्य नेताहरुसँगको आन्तरिक छलफललाई पनि तिव्रता दिएका छन् । उनले महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंहलगायतका नेताहरुसँग छलफल गरेका हुन् । राजधानीमा भएको छलफलका क्रममा नेताहरुबीच देउवालाई कुनै पनि हालतमा नेतृत्व दिन नहुने सहमति जुटेको स्रोतको दाबी छ ।

देउवा निकट एक नेताले एक पटक परीक्षण भइसकेका नेताहरु पुनः नेतृत्वमा आउन नहुने बताए । अबको कांग्रेस जनतासामू अझै विश्वासिलो पार्टी भएर जानुपर्ने ती नेताले बताए ।

‘उहाँ टेस्टेटड नेता हो । देउवाजीले पार्टी र देशको नेतृत्व सम्हालिसक्नु भयो । उहाँको काम हामीले हरिसकेका छौं । अब नयाँ पुस्ताको सक्षम नेतृत्व आउनुपर्छ’, देउवा निकट एक केन्द्रीय सदस्यले भने ।