काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो चरणको मन्त्रिमण्डलमा सहभागी मन्त्रीको नामको टुंगो लगाउन छलफल सुरु गरेका छन् ।
देउवाले आफ्नो नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि छलफल सुरु गरेका हुन् । कांग्रेसका तर्फबाट पहिलो चरणमा दुईजना मन्त्री पठाउने तयारी भए पनि नामको टुंगो लागिसकेको छैन् ।
सरकारमा सहभागी मन्त्रीको विषयमा छलफल गर्न नेताहरु बिहानैदेखि देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । सभापति देउवा निवासमा भेला भएका संस्थापन पक्षका नेताहरुले मन्त्री छनौटमा सतर्कता अपनाउन सुझाव दिएका छन् । संस्थापन इतर पक्षलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने छ ।
देउवाले आज सानो आकारमा मन्त्रिमण्डल गठन गर्ने भएकाले आफु निकट मिनेन्द्र रिजाललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिन लागेको स्रोतले जनाएको छ । यस्तै अर्थमन्त्रालयको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीलाई दिने कांग्रेसभित्र सहमति जुटेको एक नेताले जानकारी दिए ।
यसबारे औपचारिक निर्णय हुन बाँकी रहेको छ । सत्ता साझेदार दलहरुसंग बसेर अन्य मन्त्रालयको बाँडफाँड गर्ने देउवाको तयारी छ । कांग्रेसभित्र महाधिवेशनको गृहकार्य भइरहेका बेला सरकारको नेतृत्व गर्ने अवसर देउवालाई जुरेको छ ।
महाधिवेशनमा सभापतिका लागि दाबी गरेका देउवाले मन्त्रालय दिएरै भएपनि आफ्नो पक्षमा नेताहरुलाई पार्ने दाउमा छन् । संस्थापन इतरपक्षले पनि मन्त्रिपरिषदमा राख्नुपर्ने नेताहरुको नामवाली देउवालाई बुझाइसकेको श्रोतले जनाएको छ । २५ सदस्यिय मन्त्रीमण्डलमा प्रधानमन्त्री र अन्य ८ मन्त्रालय कांग्रेसको भागमा परेको छ । मन्त्रालयको बाँडफाँड गठबन्धनबाट हुने बताइएको छ ।




प्रतिक्रिया