कांग्रेसको क्रियाशील विवाद टुङ्गियो, एक हप्ताभित्र वडा अधिवेशन


काठमाण्डु – नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान भएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएसंगै विवाद समाधानको दिशामा अघि बढेको हो ।

२० जिल्लामा क्रियाशील सदस्यताकै कारण अधिवेशन प्रभावित भएको थियो । २० मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान भई वडा अधिवेशन भइरहेको छ । बाँकी १३ जिल्लामा पनि अधिवेशनका लागि क्रियाशील सदस्यको मापदण्ड बनाएको नेता मिनेन्द्र रिजालले बताए ।

उनले भने, ‘हामी ३ जनाको कार्यदलले सहमती जुटाएको छ । एउटा मापदण्ड बनाएको छ सोही अनुसार अव निर्वाचन प्रक्रिया अघि बढ्छ । फेरी हामी ३ जना बस्नुपर्ने अवस्था छैन । हामीले हाम्रो तर्फबाट सक्यौं । अव यो कार्यान्वयनमा जाने छ ।’

तीन नेताले गरेको सहमति कार्यान्वयनको जिम्मा क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई दिइएको छ । बाँकी १३ जिल्लाको विवाद समाधान भइसकेको र कार्यान्वयनमा अघि बढिसकेको दाबी गरिएको छ । आज साँझसम्म सबै विवाद समाधान हुने स्रोतले जनाएको छ ।

फर्जी सदस्यको नाम काट्न बाँकी

प्रदेश २ का आठ वटै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन् । सदस्यता छानविन समिति सदस्य रहेका केन्द्रीय सदस्य आनन्द ढुंगानाका अनुसार बाराबाहेक सबै सातवटै जिल्लाको क्रियाशील सदस्यताको काम सकिएको छ । बारा जिल्लाको क्रियासील सदस्यताको विवाद पनि आजै सल्टीने बताइएको छ ।

बारा जिल्लामा क्रियासिल सदस्यतामा देखिएको विवाद समाधानको माग गर्दै विरोध जनाइरहेका नेपाल विद्यार्थी संघका पूर्व सहमहामन्त्री राजेश रौनियारले विवाद समाधान भएपनि कार्यान्वयन हुन बाँकी रहेको जानकारी दिए ।

उनले भने, ‘मापदण्ड त बनेको छ तर त्यो मापदण्ड कार्यान्वयन हुनुपर्‍यो नि अहिले हामी त्यसैको छलफलमा छौँ । जुन फर्जी नामावली वेवसाइटमा राखिएको थियो त्यो हट्नुपर्‍यो नी त्यो हटाएपछिमात्र ढुक्क हुने अवस्था आउछ ।’

नामावली प्राप्त भएको एक हप्ताभित्र निर्वाचन

क्रियाशील सदस्यतामा विवाद देखिदा निर्वाचन प्रक्रिया नै अन्यौलमा परेको थियो । भदौ १८ बाट सुरु भएको वडा प्रभावित भएपछि महाधिवेसनै तोकिएको समयमा हुन्न की भन्ने शंका थियो । विवाद समाधान भएसंगै वडाको अधिवेशन हुने भएको छ । क्रियाशील सदस्यको नाम प्राप्त गरेको एक हप्ताभित्र वडाको निर्वाचन गराउने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताए ।

उनले भने, ‘निर्वाचन समिति तयार छ जव हामीलाई क्रियाशील सदस्यको नाम प्राप्त हुन्छ त्यसको एक हप्ता भित्र सबै वडाहरुमा निर्वाचन सम्पन्न हुन्छ । हामीले नामावली पर्खेर बसेका छौँ ।’

कांग्रेसमा लामो समय क्रियाशील सदस्यता विवाद नटुंगिदा पटकपटक महाधिवेशनको मिति सर्दै आएको छ । नयाँ कार्यतालिका अनुसार कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement