एमसीसी नेपालको पक्षमा छ, सदनबाट पास हुन्छः सभापति देउवा

एमसीसी नेपालको पक्षमा छ, सदनबाट पास हुन्छः सभापति देउवा

‘भोट एमालेलाई हाल्ने अनि काँग्रेसलाई चुप लागेको छ भन्ने ? टिभी हेर्नु हुन्न कि क्या हो ’


दाङ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनबाट पास हुने बताएका छन् ।

उनले कांग्रेस एमसीसीको पक्षमा रहेको बताउँदै कुनै पनि हालतमा पास हुनु पर्ने उनले प्रतिबद्धता जनाएका छन् । उनले एमसीसी पास भएमा नेपालले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाली प्रेस युनियन दाङले आइतबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले नेपाल जस्तो अल्पविकसित देशमा विदेशी सहयोग अनिवार्य रहेको भन्दै एमसिसी परियोजनाअन्तर्गत अमेरिकाले ५० करोड अमेरिकी डलर सहयोग गर्ने बताए ।

‘एमसिसी म प्रधानमन्त्री हुँदा क्याबिनेटले पास गरेको कुरा हो’ देउवाले भने ‘अमेरिकाको यत्रो ठूलो रकम पहिलो पटक नेपालमा आएको हो, त्यसैले एमसिसी नेपालका लागि धेरै महत्वपूर्ण छ ।’

कुनै पनि हालतमा यति ठूलो सहयोगको पैसा फिर्ता जान दिन नहुने मान्यतामा नेपाली कांग्रेस रहेको देउवाले बताए । देउवाले भने ‘मलाई विश्वास छ, अहिलेको सरकारले पनि त्यसलाई अगाडि बढाउने छ ।’

एमसिसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले बताए । बुटवलदेखि नयाँ दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको बताए ।

त्यस्तै उनले त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारमा समेत सहयोग पुग्ने बताए । अहिलेको सरकारले कुनै पनि त्यस्तो उल्लेखनीय काम गर्न नसकेको देउवाको आरोप छ । ‘सरकारले दुई वर्षमा गरेका दुईटा काम देखाउनुस न’ उनले भने ‘सरकारले भ्रष्टाचार बढाएको छ, उपभोक्ता समितिको नाममा लुट भइरहेको छ ।’

उनले सरकारका गलत कामको प्रतिपक्षीले सदनवाट विरोध गर्दै आएको बताए । ‘काँग्रेस कहाँ चुुप लागेर बसेको छ ?,’ देउवाले भने ‘तपाईले भोट हाल्ने बेला एमालेलाई हाल्ने अनि आज काँग्रेसलाई चुप लागेको छ भन्ने ? टिभी हेर्नु हुन्न कि क्या हो ।’