धनगढी – नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि सुदूरपश्चिमबाट पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा आफ्नो उम्मेद्वारी दाबी गर्ने क्रम बढिरहेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक सभापति पदका लागि तयारी गरिरहँदा सुदूरपश्चिमका दोस्रो तहका कांग्रेस नेताले महाधिवेशनमा पदाधिकारीको दौडमा गति बढाएका छन् ।
कञ्चनपुर कांग्रेसका नेता एवं केन्द्रीय सदस्य नारायणप्रकाश साउदले महामन्त्री पदका लागि उम्मेद्वारी दिने तयारीसहित काठमाडौँमा सम्र्पक कार्यालय सञ्चालन गरेर चुनावी गतिविधि बढाएका छन् । सभापति देउवा निकट मानिने साउदले आफू महामन्त्री पदको उम्मेद्वार नबने पनि आफू निकट नेता तथा कार्यकर्तामार्फत प्रचारप्रसार अघि बढाइरहेका छन् ।
त्यसैगरी कांग्रेस कञ्चनपुरका अर्का नेता एवं केन्द्रीय सदस्य रमेश लेखक पनि १४औँ महाधिवेशनमा पदाधिकारीको दौडमा छन् । उनले टिमको छलफल र टुङ्गोबाट आफू अघि बढ्ने निकटतस्थलाई बताइरहेका छन् । उनको दाबी पनि महामन्त्री पदमै रहेको कांग्रेस नेताको भनाइ छ । कञ्चनपुरमा नेता लेखकको निर्वाचन क्षेत्र नं ३ र साउदको २ नम्बरमा राम्रो प्रभाव छ ।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र १ मा पार्टीमा राम्रो पकड बनाएका संविधानसभा सदस्य दिवान विष्टले पनि केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् । संस्थापन इतर समूहसित नजिक मानिएका विष्टले यसपटक जिल्लास्तरसम्मको निर्वाचनमा भने नेता साउदसित चुनावी तालमेल गरेका थिए। विसं २०३२ को सरोफोरोबाट कांग्रेसको राजनीतिमा रहेका नेता विष्ट १४औँ महाधिवेशनमा आइपुग्दा सुदूरपश्चिम प्रदेशबाट पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारीमा छन् ।
यसैगरी सुदूरपश्चिमका पहाडी जिल्लाबाट कांग्रेस नेता केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदैछन् । बाजुराबाट यसअघि सहमहामन्त्रीमा कांग्रेस नेता बद्री पाण्डेले उम्मेद्वारी घोषाणा गरिसकेका छन् । उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारलाई अघि बढाएका छन् । उनी रामचन्द्र पौडेल निकट नेता मानिन्छन् ।
त्यसैगरी दार्चुला, बैतडी क्षेत्रमा राम्रो पकड बनाएका कांग्रेस केन्द्रीय सदस्य तथा कानुनमन्त्री दीलेन्द्रप्रसाद बडूले पनि केन्द्रीय पदाधिकारीमा आकांक्षा देखाएको उनी निकट नेताको भनाइ छ । पौडेल समूहबाट सहमहामन्त्री पदमा बडूको नाम उम्मेद्वारको आकांक्षीका रूपमा आउने गरेको भए पनि उनी टिमसित छलफलबाट अघि बढ्ने मनिस्थितमा छन् । ‘टिमको निर्णय अनुसार मन्त्री कुन पदमा लड्ने भन्ने टुङ्गोमा आज बेलुकी वा भोलि बिहानसम्म पुग्नुहुन्छ’, उनका एक सहयोगीले भने ।
त्यस्तै नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले पनि केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी अघि बढाएका छन् । कैलालीको टीकापुरबाट कांग्रेस नेता एवं प्रदेशसभा सदस्य डा रणबहादुर रावलले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले महाधिवेशनमा सुदूरपश्चिम प्रदेश (भूगोल) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
कांग्रेस कञ्चनपुरकी नेत्री एवं महिला सङ्घ केन्द्रीय सदस्य रमिता शाही देउवाले पनि सुदूरपश्चिमबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसचिव भोजराज बोहराले १४औँ महाधिवेशनमा सुदूरपश्चिमबाट पदाधिकारीमा पनि माथिल्लो तहमा यहाँका नेताले स्थान पाउने सम्भावना कम रहेको बताए ।
‘सभापति पनि यतै, उपसभापति र महामन्त्री पनि यतिकैले पाउँलान जस्तो लाग्दैन् । सहमहामन्त्री र केन्द्रीय सदस्य भने यहाँका नेताले बाजी मार्न सक्छन्,’ उनले भने । महाधिवेशनका लागि सुदूरपश्चिमका नौवटै जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र पार्टी सभापतिलगायत नेता काठमाडाँै जाने क्रम सुरु भइसकेको छ ।




प्रतिक्रिया