कांग्रेस महाधिवेशन : पहिलो चरणमै आउला त नतिजा ?

कांग्रेस महाधिवेशन : पहिलो चरणमै आउला त नतिजा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको लागि आज मतदान जारी छ । काठमाडौंमा जारी महाधिवेशनमा सभापति पदका लागि वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।

कांग्रेसको विधानअनुसार पहिलो चरणबाट सभापतिमा विजयी हुन सभापतिका उम्मेदवारमध्ये कुनै एक जनाले ५० प्रतिशत मत भन्दा बढी मत ल्याउनु पर्ने हुन्छ । सभापति पदका लागि उम्मेदवार धेरै भएकाले पहिलो चरणको चुनावबाटै सभापतिमा विजयी हुने सम्भावना कम देखिएको छ ।

पहिलो चरणबाटै सभापति छानिन नसके दोस्रो चरणमा हुने मतदानमा शीर्ष दुई स्थानमा हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा बाँकी तीन नेतालाई समर्थन गर्ने मतदाताहरू निर्णायक हुने बुझाइ रहेको छ । कांग्रेसको विधान अनुसार पहिलो चरणमा कुनै एक उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसके सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने व्यवस्था रहेको छ ।

यसअघिको महाधिवेशनमा यस्तो भएको थियो

कांग्रेसको विसं २०७२ साल फागुनमा भएको अघिल्लो महाधिवेशनमा पहिलो चरणबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन सकेका थिएनन् ।

त्यसपछि दोस्रो चरणबाट सभापति चयन भएको थियो । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका देउवा र पौडेलबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा तेस्रो भएका कृष्णप्रसाद सिटौलाको समूह निर्णायक बनेका थियो । दोस्रो चरणमा सिटौला पक्षको समर्थन देउवाले प्राप्त गरे र सभापतिमा निर्वाचित भएका थिए ।

अहिलेको अवस्था कस्तो छ ?

२०७२ को महाधिवेशनमा दास्रो चरणमा देउवालाई साथ दिएका सिटौलाले हाल पहिलो चरणमा देउवा प्यानलमा उभिएका छन् । तर अघिल्लो महाधिवेशनमा सिटौलाको पक्षमा रहेको पक्ष भने अहिले फरकफरक प्यानलमा बाँडिएको छ । अघिल्लो महाधिवेशनमा उनको समूहबाट महामन्त्री पदका उम्मेदवार गगन थापा अहिले शेखर कोइरालाको समूहबाट सोही पदका लागि उम्मेदवार छन्।

देउवाले पनि पाँच वर्ष नौ महिनापछि हुन लागेको चौधौँ महाधिवेशनमा अघिल्लो महाधिवेशनमा उनलाई सहयोग गरेका केही नेताको साथ गुमाएका छन्। सिटौलाको समूहजस्तै देउवा समूह पनि फरकफरक प्यानलमा पुगेको छ । पार्टी विभाजनमा समेत देउवालाई साथ दिएका विमलेन्द्र निधि अहिले देउवाका प्रतिस्पर्धी बनेका छन्।

अघिल्लो महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीका उम्मेदवार बनेका अहिले अर्जुन नरसिंह केसी शेखर कोइरालाको समूहमा खुलेका छन्। देउवा नेतृत्वको समूहबाट हालै मात्र अलग भएका नेता विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीका उम्मेदवार बनेका छन्।

यता अघिल्लो पटक रामचन्द्र पौडेललाई समर्थन गरेको समूह पनि यो पटक धेरै समूहमा बिभाजित भएको छ । अघिल्लो पटक पौडेललाई साथ दिएका अर्का नेता प्रकाशमान सिंह यो समूहबाट अलग भएर आफैँ पदाधिकारीमा केही प्यानलसहित सभापतिको प्रतिस्पर्धामा छन्। पौडेल समूहका धेरै नेताहरूको समर्थनमा शेखर कोइराला सभापतिका उम्मेदवार बने पनि कोइराला परिवारकै सुजाता कोइरालाले सिंहको समूहमा खुलेकी छिन् । उनले नेता सिंहको समुहबाट उपसभापतिमा उम्मेदवारी दिएकी छिन् । उनले नेता सिंहले महिलाको सम्मान गरेकाले उनको समुहलाई समर्थन गरेको समेत बताइन् ।

वरिष्ठ नेता पौडेल भने कुनै गुटमा खुलेका छैनन् । वर्तमान महामन्त्री शशांक कोइरालाले पनि आफू कुनै पनि गुटमा नरहेको स्पष्ट गरेका छन् । उनले भने, ‘ म कुनै पनि गुटमा छैन् । सायद त्यसैले होला मेरो नाम दुबै गुटमा छ ।’

पहिलो चरण मै आउला त नतिजा ?

अघिल्लो महाधिवेशनमा देउवालाई साथ दिएका सबै नेताहरू अहिले फरक समूहमा पुग्दा पहिलो चरणमै सभापतिमा विजयी नहुने नेताहरुको भनाइ छ । र देउवाका प्रतिशप्रधिहरुले पनि पहिलो चरणमै विजयी हुन नसक्ने ती नेताहरुको दाबी छ । यता डा. शेखर कोइरालाले आफ्नो टिम बलियो भएकाले पहिलो चरणमै सभापतिमा विजयी हुने दावी गरेका छन् । उनले भने, ‘मेरो टिम सक्षम छ । हामी पहिलो चरणमै सभापतिमा विजयी हुन्छौँ । धेरैको हल्ला छ चुनाव दोस्रो चरणमा जान्छ । जहासम्म टिम बलियो भएकाले हामी पहिलो चरण मै विजयी हुन्छौँ ।’

त्यसैगरी सभापतिका अर्का उम्मेदवारी निधिले भने पहिलो चरणबाट नेतृत्व चयन नहुने बताएका छन् । उनले सभापतिका उम्मेदवार धेरै भएकाले चुनाव दोस्रो चरणमा जाने बताए । नेता निधिले भने, ‘सभापतिको उम्मेदवार धेरै भएकाले चुनाव दोस्रो चरणमा जान्छ । त्यसपछि हामी सबै मिलेर देउवा विरुद्ध मोर्चाबन्दी गर्नुपर्छ । अब कांग्रेसमा नयाँ नेतृत्व आउनु पर्छ । ’