कांग्रेस महाधिवेशनः ठूला मान्छे सरसर्ती भित्र छिरे, बिरामी धनमन्तीदेवीले हात जोड्दा पनि जान पाइनन्

कांग्रेस महाधिवेशनः ठूला मान्छे सरसर्ती भित्र छिरे, बिरामी धनमन्तीदेवीले हात जोड्दा पनि जान पाइनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अश्विन दानी

काठमाण्डु – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा प्रतिनिधि हुन पाउँदा सर्लाहीकी ६० वर्षीया धनमन्तीदेवी यादवको मनमा खुसीको सीमा नै थिएन । उनी २४ मंसिरको बिहानै काठमाडौं आइपुगिन् ।

पहिलो चरणको मतदान पनि साढे ५ घण्टा लाइनमा बसेर करिब ५० मिनेट लगाएर गरिन् । तर, पहिलो चरणको मतदानबाट सभापति टुङ्गिएन । दोस्रो चरणको मतदान हुने भयो । मंगलबार दिउँसो ३ बजेदेखि मतदान हुने भनेपछि उनले अघिल्लो दिन साढे पाँच घण्टा लाइनमा बसेको सम्झिन् । अनि छिट्टै गरी लाइनमा बस्न भनेर सवा १ बजे सभागृह आइपुगिन् । तर, उनलाई धेरैले उछिनिसकेका थिए ।

साढे डेढ घण्टा लाइनमा बसिन्, तर मतदान गर्ने पालो त परको कुरा सभागृहको मुख्य प्रवेशद्वारबाट भित्र छिर्न समेत पाइनन् । लाइनमा बस्दाबस्दै उनलाई एक्कासि टाउको दुख्यो, चक्कर लाग्यो । उनी ढलिन् ।

ञलाईनमा बस्दाबस्दै ढलेँ । त्यसपछि पानी खाएँ अनि एकछिन बसेँ । अलिक सन्चो भएजस्तो भयो,झ उनी भन्छिन् । उनी मधुमेह र मुटु रोगबाट पीडित रहिछन् । त्यसैले भिडभाडमा लामो समयसम्म उभिँदा सन्चो हुन्न । बिरामी भए पनि उनको मन मतदान नगरी फर्कन मानेन ।

ञम पहिल्यैदेखि रोगी छु । आज लाइनमा ढलेपछि बिरामी हुँ भन्दै लाइन नबसी भित्र छिर्न खोजेँ । प्रहरीहरूलाई हात जोडेँ । तर, हाम्रो कुरा कसले सुन्ने ?,झ उनले भनिन् ।

बिरामी हुँ भनेर पटकपटक उनले सुरक्षाकर्मीहरूलाई भित्र छिर्न दिन अनुरोध गरे पनि छिर्न पाइनन् । त्यसपछि उनी दिक्क हुँदै सुरक्षाकर्मीहरूकै आडमा चिसो भुइँमा थचक्क बसिन् । उनी त्यहीँ बसिरहँदा थुप्रै भीभीआईपीहरू सरसर्ती भित्र छिरे । तर, उनी छिर्न पाइनन् । अनि उनको मन कुँडियो । चित्त दुख्यो ।

ञठूला मान्छेलाई सजिलै भित्र छिर्न दिने, लाइन बस्न नपर्ने । बिरामीलाई भने भित्र छिर्न दिनुस् भनेर हात जोड्दा पनि नदिनेझ, उनी दुःख मान्दै भन्छिन् ।