काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः शेरबहादुर देउवा नै सभापतिमा निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा पाँच प्रत्यासीमध्ये कसैको पनि बहुमत नपुगेपछि दोस्रो चरणको मतदान भएको थियो ।
देउवा पार्टीभित्र दोस्रो पुस्ताका नेता शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । उनी हाल पाँचौपटक मुलुकको प्रधानमन्त्री छन् । पार्टी र राज्यसत्ता दुवैको चाबी हातमा लिएर चुनावमा होमिएका देउवाले सभापतिमा पुनः बाजी मारेका हुन् । वि.सं २००३ सालमा डडेल्धुराको असिग्राममा जन्मेका देउवा पछिल्ला साढे पाँच दशक यता राष्ट्रिय राजनीतिमा सक्रिय छन् ।
१३ औँ महाधिवेशनपछि नेतृत्व सम्हालेदेखिनै संस्थापन इतर समूहले चर्को विरोध गरिरहेको थियो । पार्टीका भातृ संगठनहरुलाई कमजोर बनाएर पार्टीलाई ध्वस्त पार्ने खेलमा लागेको उनीमाथि आरोप छ । त्यतिमात्रै होइन तिनै तहको निर्वाचनमा भएको हारको जिम्मेवारी देउवाले लिनुपर्ने समेत आवाज उठेको थियो ।
परिस्थिति फेरियो
निर्वाचनको दिनसम्म पनि देउवाको विरोध गर्दै आफ्नो पक्षमा मत मागिरहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गरेसंगै देउवाको विजय सुनिश्चित भएको थियो । हिजो देउवासंगै रहेका निधिले आफुलाई प्रयोग गर्न उमेद्वारी दिएको बताएपनि सिंहले भने देउवाको विकल्प खोज्नै पर्ने बताउँदै आएका थिए । सिंहले देउवालाई समर्थन जनाएपछि कार्यकर्ताहरु आश्चर्यमा परेका छन् ।
देउवा र सिंहबीच प्रधानमन्त्रीमा सौदाबाजी भएको भनिएपनि प्रकाशमानले भने उक्त आरोपको खण्डन गर्दै आएका छन् । संस्थापन इतरमा देउवाको विरुद्धमा खुलेर लागेका सिंह । उक्त समुहबाट साझा उमेद्वार बन्न नसकेपछि उक्लै उमेद्वारी दिएका हुन् । निर्वाचनमा तेस्रो बनेका सिंहले शेखरलाई सघाउलान भन्ने धेरैको अनुमान थियो तर परिस्थिति भने एकाएक बदलियो ।
प्रकाशमानको टर्निङले नै देउवाको जित भएको विश्लेषण गरिएको छ । हिजो देउवाले पार्टीलाई कमजोर बनाएको र देउवा फेरी पनि आए भने कांग्रेसको नाम निसान नै मेटिने भन्दै आफ्नो पक्षमा मत मागेका सिंह अन्ततः देउवालाई समर्थन गर्न पुगेका हुन् । उनको समर्थन जायज नभएको कांग्रेस इतर पक्षमा चर्चा छ ।
उनले मतदाताले रुचाएकाले देउवालाई समर्थन गरेको अभिब्यक्ति दिएका छन् । तर, पहिलो चरणको मतदानमा कोइरालाको पनि मत कम थिएन । दोस्रो चरणमा कोइरालालाई साथ दिएको भए कोइरालाको जित निश्चित भएको कतिपयको बुझाइ छ । यतिमात्र होइन देउवाको विकल्पबारे छलफल गरिरहेको इतरपक्षका नेताहरुको मौनताले दोस्रो बरियताको नेतालाई नेतृत्व स्वीकार गर्न नसकेको प्रष्ट देखिएको राजनितिक विश्लेषकहरु बताउँछन् । रामचन्द्र पौडेल, शशांक कोइरालाको मौनताले शंका उत्पन्न भएको बताइन्छ ।
शेखरका लागि आफ्नै परिवार घातक
आफ्नै परिवारका सदस्य एक ठाउँ नहुनु शेखरका लागि घातक बन्यो । कोइराला परिवारबाटै शेखर सभापति उठ्दा सुजाता सिंहको प्यानलबाट उपसभापति लडिन । बीपीपुत्र शशांक मौन बसिदिए । दोस्रो चरणको निर्वाचनमा समेत उनी सहमति र सहकार्यको आवश्यकता भन्दै मौन बसे । यसले गर्दा शेखर एक्लो परे । जसका कारण फेरी पनि नेतृत्व देउवाकै पोल्टामा प¥यो । देउवाले दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गरेका हुन् ।
कोइराला परिवारको फेरी उदय
निर्वाचनको नतिजा जे आए पनि अब कांग्रेसमा देउवा–कोइराला समूह बनेको छ । १३ औं महाधिवेशनपछि लगभग हराएजस्तै बनेको कोइराला परिवार अहिले एउटा समूहको नेतृत्वमा पुगेको छ । आफ्नै परिवारका सदस्य समेत विभाजित बन्दापनि शेखरले प्राप्त गरेको मत आशालाग्दो भएको राजनीतिक विश्लेषक विश्वकान्त मैनाली बताउँछन् ।
निर्वाचनमा आएको मतका आधारमा उनीसँग रहेको युवा पंक्तिको राजनीति पनि यही समूहसँग जोडिएको बताइएको छ । बीपी कोइरालाका पुत्र शशांक मौन बसे भने गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजता अर्को समूहबाट चुनाव लडिन् । नेतृत्वबाट बाहिरिएको भनिएको कोइरालापरिवारको बिरासत अब शेखरको काधमा पुगेको छ ।




प्रतिक्रिया