कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, निर्वाचनमा गठबन्धनबारे मध्यमार्गी उपाय खोजिने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, निर्वाचनमा गठबन्धनबारे मध्यमार्गी उपाय खोजिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । साउन २८ गते स्थगित भएको बैठक आज ११ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।

गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । आजको बैठक त्यहिँबाट सुरु हुनेछ ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक राजनीति तरङ्गित बन्दै आएको छ ।

गगनको चुनावी गठबन्धन गर्न वा नहुने र शर्माको प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने बारेको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले ‘काउन्टर’ गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो । महामन्त्रीद्वय थापा र शर्मा निर्वाचनपूर्व गठबन्धन नगर्ने विषयमा अडिग रहेपछि शीर्ष नेतृत्वले बैठकबाट मध्यमार्गी बाटो तय गर्ने जनाइएको छ ।

निर्वाचनकै नतिजामा गम्भीर प्रभाव पार्ने एजेन्डा भएकाले कांग्रेसको शीर्ष नेतृत्व महामन्त्रीद्वयको प्रस्तावप्रति सकारात्मक छैन । गठबन्धनको विषयमा एकरूपता नदेखिएपछि थप गृहकार्यका लागि भन्दै ११ दिन केन्द्रीय कार्यसमिति बैठक सारिएको थियो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार पदाधिकारीमा निरन्तर छलफल भए पनि सहमति भएको छैन । उनका अनुसार गठबन्धनलाई रणनीतिक बनाउने गरी मध्यमार्गी निर्णयको प्रयास रहेको छ ।

गत फागुनको महासमिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जन गर्दै महामन्त्री शर्मा केन्द्रीय समिति बैठकमा निर्वाचनपूर्व गठबन्धन नगर्ने पक्षमा उभिएका थिए । यससँगै कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने गरी एकै ठाउँ आइपुगेका थिए । शर्माले विगतको अनुभवका आधारमा निर्वाचनपूर्व गठबन्धन गर्न नहुने गरी प्रतिवेदन परिमार्जन गरेका छन् ।

महामन्त्रीद्वय निर्वाचनपूर्व गठबन्धन नगर्ने र सरकार गठनमा भने गठबन्धन गरेर जानुपर्ने पक्षमा छन् । महासमिति बैठकका सुझाव समेटेर जारी केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव परिमार्जनसहित राखेका छन् ।