काठमाण्डु– नेपाली कांग्रेसले पछिल्ला २ दिन यता भएका पहिरो र सवारी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
आइतबार मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै रामेछापको शैलुङ्गमा गएको पहिरो, सिन्धुलीको गोलन्जोरमा भएको जिप र विभिन्न स्थानमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
कांग्रेसले रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी ६ जनाको मृत्यु र ४ जना हराइरहेका खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र. नं ३ –०१–०२३ च ६३६६ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट सुनकोशीमा खस्दा ३ यात्रु बेपत्ता भएकोमा दुख व्यक्त गरेको हो ।
यस्तै बाराबाट भारतको झारखण्ड देवघरमा जल अर्पण गर्न गएका नेपाली तीर्थयात्री सवार बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ४३ यात्रु मध्ये ३५ भन्दा बढी यात्रुहरु घाइते भएका र महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका घटनाप्रति दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै पहिरोमा परी निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दै शैलुङ्गको पहिरो र सुनकोशीमा हराइरहेकाहरूको खोजी कार्यलाई तीव्र पार्न र बस दुर्घटनाका घाइतेहरूको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग समेत गरेको छ ।




प्रतिक्रिया