काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारस्थित ललिता निवास प्रकरणमा दोषी ठहरिएका विजय गच्छदारको बचाउनमा सदनमा चर्को विरोध जनाएको छ । कांग्रेसले गच्छदारमाथि लगाएको आरोप झुठो भएको भन्दै संसद अवरुद्ध पारेको छ ।
कांग्रेसले संसदीय दलका उपनेता गच्छदारमाथि अख्तियारमा भ्रष्टाचार मुद्दा चलाइएकोमा आपत्ति जनाएको हो ।
प्रतिनिधिसभाको बिहीवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गच्छदारमाथि प्रतिशोध साँधिएको आरोप लगाएकी छन् ।
उनले संवैधानिक अंग सरकारको लाचार छाँया बनेको आरोप समेत लगाइन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो यात्रा गरेका र जनताले पटक–पटक अभिमत दिएका गच्छदारप्रति हदैसम्मको प्रतिशोध साँधिएको जिकिर उनले गरिन् ।
राजनीतिक पूर्वाग्रहको आधारमा बदनियतपूर्ण ढंगले गरिएको मुद्दा स्वीकार नगर्ने चेतावनी समेत उनले दिइन् ।
कांग्रेसको अवरोधपछि सभामुख अग्नि सापकोटाले बैठक भोली (शुक्रबार) सम्मका लागि स्थगित गरेका छन् ।




प्रतिक्रिया