शेखर समूहले बोलाएको पालिका सभापतिहरूको भेला रोक्ने सस्थापनको प्रयास असफल

शेखर समूहले बोलाएको पालिका सभापतिहरूको भेला रोक्ने सस्थापनको प्रयास असफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन पक्षले नेता डा. शेखर कोइराला समूहले विराटनगरमा आयोजना गरेको पालिका सभापतिहरूको भेला रोक्ने प्रयास असफल भएको छ ।

डा. कोइराला समूहले आजदेखि गर्ने विराटनगरमा बोलाएको पालिका सभापतिहरूको वृहत् भेला रोक्न सोमबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मङ्सिर २२ गतेदेखि भेला आयोजना गरिएको जनाउँदै शेखर समूहको भेला नरहेको पत्र पठाएका थिए ।

तर, त्यो पत्रपछि पनि कोइराला समूहले भेला नरोक्ने बताएको छ । कोइराला समूहका भनेर चिनिएका कांग्रेस विराटनगर महानगरपालिका सभापति दीपक चापागाईंले केन्द्रीय कार्यालयले पठाएको पत्रमा भेला रोक्न नभनको बताउँदै भेला रोक्नुपर्ने कारण नरहेको जानकारी दिए ।

चापागाईंले भेलामा सहभागी हुन १ सय १३ पालिकाका सभापतिहरूले नाम दर्ता गरिसकेको र निर्धारित समयमै भेला हुने जनाए । कोशी प्रदेशमा १३७ पालिका छन् ।

पौडेलले कोशी प्रदेशका सबै जिल्लाका सभापतिहरूलाई सम्बोधन गरेर पठाएको पत्रमा मङ्सिर २२ गते आधिकारिक प्रदेशको सम्मेलन हुने र अन्य कार्यक्रम नभएको उल्लेख थियो ।

कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापा नेतृत्वको प्रदेश समितिले मङ्सिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेको थियो । त्यसअगाडि शेखर समूहले आज र भोलीका लागि प्रदेश राजधानी विराटनगरमै सभापतिहरूको भेला राखेको हो । दिउँसो १ बजे विराटनगरको जैन भवनमा उद्घाटन हेने भेलामा काठमाडौँ, पोखरा, वीरगन्ज, ललितपुर र भरतपुरका सभापतिहरु सहभागी हुने कोइराला समूहले जनाएको छ ।