कांग्रेस संसदीय दलको बैठक बिना निष्कर्ष सकियो

कांग्रेस संसदीय दलको बैठक बिना निष्कर्ष सकियो


काठमाण्डु- नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

उनले भने, ‘बैठक आज सक्नेगरी हामीले बोलाएका थियौँ । तर बोल्ने वक्ताहरुको क्रम लामो भएकाले आज पनि बैठक सकेनौँ । सांसदहरुको बोल्ने क्रम सकिएको छ । अब मन्त्रीहरु, पदाधिकारीहरु र नेताहरुले बोल्ने क्रम बाँकी छ ।’

अर्को बैठक माघ २४ गते बिहान बस्ने छ । बैठकमा सरकारले ल्याएका अध्यादेशलगायत विविध विषयमा छलफल भएको उनको भनाइ छ ।

यसैगरी बैठकमा ताप्लेजुङमा पाथीभारा केबुलकार निर्माणसम्बन्धी विवाद तत्काल समाधान गर्न जिल्लाका सांसदहरूले गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेको र मन्त्री लेखकले वार्ता समिति बनाएर हल गर्न निर्देशन दिएको समेत उनले बताए ।