काठमाण्डु- नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबारदेखि भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम सुरु हुँदैछ । प्रशिक्षणका लागि देशभरका १६५ क्षेत्रीय सभापतिहरू भैरहवा पुगिसकेका छन् ।
प्रशिक्षणको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि भैरहवा पुग्ने कार्यक्रम छ । यस्तै, गृहमन्त्री रमेश लेखक र अन्य नेताहरू शेखर कोइराला र मिनेन्द्र रिजाल सहितका नेताहरू शनिबारदेखि नै रुपन्देहीमा उपस्थित छन् ।
नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काका अनुसार प्रशिक्षण कार्यक्रममा देशभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्रका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी भएका छन् । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल गरिनेछ ।
उद्घाटनपछि कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधारका विकास, संविधान र मुलुकको विकासका लागि पार्टीको भूमिका, आगामी महाधिवेशन, क्रियाशील सदस्यता र आमनिर्वाचनका विषयमा प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ ।
यस क्रममा सहभागीहरूले आफ्नो क्षेत्रका अनुभव आदानप्रदान गर्ने छन् । क्षेत्रीय सभापतिहरूले वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिनेछन् भने सरकारमा सहभागी दुई जना मन्त्रीले ती सुझावहरूको जवाफ दिने कार्यक्रम पनि राखिएको छ ।




प्रतिक्रिया