काठमाण्डु – २०७९ को स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा आफ्नै उम्मेदवारलाई पराजित गर्न भूमिका निर्वाह गरेको आरोपमा नेपाली कांग्रेसले विभिन्न नेता–कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ ।
केन्द्रीय अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले कारबाही निर्णय गरी बुधबार सार्वजनिक गरेको हो ।
निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध खुलेर असहयोग गर्ने, सामाजिक सञ्जाल तथा अडियो–भिडियोमार्फत गलत प्रचार गर्ने लगायतका प्रमाणका आधारमा उनीहरूमाथि कारबाही गरिएको हो ।
स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोपमा तीन बर्षपछि कारबाहीको डन्डा चलाएको हो ।
तर, अनुशासनको कारबाही गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । संस्थापन इतर समूहको विमतिबीच बहुमतको आधारमा नेताहरूमाथि कारबाही गरेपछि डा. शेखर कोइराला समूहले असन्तुष्टि जनाएको हो ।
तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्लाका सभापति विष्णुकमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई निष्कासन गरिएको छ भने अधिकांशलाई निलम्बन गरिएको छ । कारबाहीमा परेका अधिकांश शेखर निकटका नेताहरू छन् ।
आनन्दप्रसाद ढुंगानाको संयोजक रहेको अनुशासन समितिका सदस्य सञ्जय गौतम र राजीव कोइरालाले विमति राखेका थिए । ढुंगानासहित ईश्वरी न्यौपाने र ध्रुव वाग्ले गरि ३ जनाले नेताहरूमाथि कारबाहीको निर्णय गरेका हुन् ।
शेखर कोइराला निकट एक नेताले विमति राख्दाराख्दै बहुमतको आडमा भएको निर्णयमा सहमति छैन । आफूनिकट अधिकांश नेताहरूलाई पार्टीले कारबाही गरेपछि नेता कोइरालाले बैठक बोलाएका छन् ।
कोइरालाको सचिवालयका अनुसार बैठकमा अनुशासन समितिले बुधबार गरेको अनुशासनको कारबाहीबारे समूहको धारणा बनाउने विषयमा छलफल हुनेछ ।
बैठकमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार नेताहरू बलबहादुर केसी, सञ्जय गौतम र केही मन्त्रीहरू सहभागी रहने छन् ।




प्रतिक्रिया