काठमाण्डु –नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले पार्टी महाधिवेशन अविलम्ब हुनुपर्ने माग गरेका छन् ।
उनीहरूले वर्तमान केन्द्रीय समितिको म्याद थप्न नहुने स्पष्ट पारेका छन् ।
केन्द्रीय सदस्य गुरु घिमिरे, मनोजमणि आचार्य लगायतले आइतबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको म्याद थपिने आशंका गर्दै त्यसो गर्न नहुने बताएका हुन् ।
आचार्यले संस्थापन पक्षले समयमै नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिएको बताए ।
उनले भने, ‘असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कात्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिने समेत टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत रहेको प्रष्ट देखिन्छ । वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ ।’
राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला बिलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट नभएको उनले बताए ।
आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत् नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने उनले बताए ।
उनले केन्द्रीय समितिले आफ्नो म्याद थपरे पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरे । आउँदो निर्वाचनमा जानुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको उनले स्पष्ट पारे ।
आफूहरूको मागप्रति गम्भीर रही महाधिवेशनतर्फ अग्रसर हुन उनले सचेत गराए । आउँदो मंसिरभित्र विधिवत् महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएकामा उनले जोड दिए ।
कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले भदौ २३ र २४ गतेका तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरू नभएको बताए । तोडफोड, आगजनी र लुटपाटका क्रियाकलाप निन्दनीय रहेको उनले उल्लेख गरे ।
‘भदौ २३ र २४ का घटनाहरूले हामीलाई सधैँ बिझाइरहनेछ । तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर हामी होइनौँ । ती क्रियाकलापहरू निन्दनीय छन्,’ उनले भने, ‘त्यो घटनाले विश्व राजनीतिमा मानक खडा गरेको छ । अब कसरी जाने भन्ने छलफल गरेका छौँ ।’
मंसिर मसान्तभित्र पार्टी महाधिवेशन गर्नैपर्नेमा उनले जोड दिए । २०४६ सालयता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त समर्थनलाई दृष्टिगत गर्दा कांग्रेसबाट पनि कमजोरी भएको महसुस गर्न जरुरी रहेको उनले औँल्याए ।
उनले भने, ‘मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्छ । नेतृत्व बदल्नैपर्छ । २०४६ सालयता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भयो कि ? यो भदौ २३ र २४ को घटनासम्म आइपुग्दा हाम्रा यी कमजोरीहरू कारक छन् कि ?’
गएको असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालयमा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४औँ महाधिवेशनका दुई हजार ४८८ प्रतिनिधिले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए । बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात् गर्दै पार्टी विधानको धारा १७(२) बमोजिम महाधवेशनको माग गरिएको उनीहरूले बताएका छन् ।




प्रतिक्रिया