काठमाण्डु – नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ । विशेष र नियमिति महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रित छन् ।
सरकारले फागुन २१ गते निर्वाचनको मिति तय गरेपछि विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेस विभाजित छ ।
विहीबार काठमाण्डुको बत्तिसपुतलीमा भेला भएका संस्थापन पक्षीय नेताहरूले नियमित महाधिवेशनमा जानुपर्नेमा जोड दिए ।
उनीहरूले १५ औं महाधिवेशनका लागि वडादेखि केन्द्रसम्मको प्रक्रिया सुरु गर्नुपर्नेमा दबाब बढाए । कांग्रेस महासमिति सदस्य तथा सहमहामन्त्री महेन्द्र यादव पार्टीभित्र फागुन २१ को निर्वाचन अघि कि पछि महाधिवेशन गर्ने भन्नेमा बहस रहेको बताउँछन् ।
यसबीच नेपाली कांग्रेसका दुई समूहले जारी केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशनको अलगअलग तालिका पेस गरेका छन्। तत्काल महाधिवेशन चाहने पक्षको तर्फबाट महामन्त्री गगनकुमार थापाले र आगामी वैशाखयता महाधिवेशन गर्न हुँदैन भन्ने पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले तालिका पेस गरेका हुन्।
महाधिवेशनका सन्दर्भमा पार्टी भित्रै फरक मत आएकाले जारी केन्द्रीय समिति बैठकले यो विषयलाई एउटा आधार दिएर टुंग्याउनपर्ने सुझाव संस्थापन पक्षका नेताहरूको छ ।
यादवले हाल देशमा भएका समस्या समाधान गर्नका लागि पार्टीको तयारी, भावी एजेण्डा, कार्यक्रम तय गरेर केन्द्रीय समिति बैठकले ठोस निर्णय दिएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘प्रविधिक र राष्ट्रिय परिस्थितिले साथ नदिएमा समयवधि थपेर महाधिवेशन सम्पन्न गराउने कुरा विधानमै व्यवस्था छ ।’
अहिले महाधिवेशनको विषयलाई लिएर अनावश्यक बहस गर्ने नभई एकताबद्ध भएर सबै नेताहरूले साझा एजेण्डा लिएर अघि बढ्नुपर्ने उनको सुझाव छ ।
नियमित महाधिवेशन आगामी वैशाखसम्म पनि गर्न सकिने तर बहुमत प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाले पुसभित्रै गर्नुपर्ने तर्क महामन्त्री विश्वप्रकाश शर्माको भनाइ छ ।
‘नियमित महाधिवेशन पुस, माघ, वैशाखमा या त्योभन्दा अघिपछि गर्न नेपाली कांग्रेसको विधानले बाधा गर्दैन । तर, विशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न विधानको दफा १७९२० को स्पष्ट निर्देशन छ । यो बाध्यात्मक छ,’ उनी भन्छन् ।
महाधिवेशन प्रतिनिधि कमला हमाल कांग्रेस ठूलो भएकाले फरक फरक विचार राख्नेहरूको संख्या पनि ठूलो हुने भएकाले महाविधेशनका सन्दर्भमा तर्क वितर्क हुनु जायज भएको बताउँछिन् ।
नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य अनिल भोजुले निश्चित समय तालिका भित्रै रहेर कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्नेमा जोड दिन्छन् । उनले विशेष महाधिवेशनले कुनै पनि हालतमा नयाँ पुस्तालाई समेट्न नसक्ने बताए ।
अर्का महासमिति सदस्य नविन राईले हालको परिवर्तन सँगसँगै पार्टीको महाअधिवेशन र संगठनात्मक संरचनाका कुराहरूलाई पूर्णता दिनका तत्काल काम गर्नुपर्ने बताए ।
‘केही नेताहरूले विशेष महाधिवेशन गर्नुपर्छ भनेतापनि नियमित महाधिवेशनमा नै जानपर्छ’, उनको तर्क छ ।
पार्टी केन्द्रीय समितिमा आगामी महाधिवेशनको दुई वटा कार्यतालिका पेस भएपछि अब के हुन्छ भन्ने चासो छ।




प्रतिक्रिया