जनातासँग माफी मागेर अघि बढौंँ : कांग्रेस कार्यवाहक सभापति खड्का

जनातासँग माफी मागेर अघि बढौंँ : कांग्रेस कार्यवाहक सभापति खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस जनतामा नयाँ रूपमा प्रस्तुत हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो बारेमा भएका सबै प्रकारका टिप्पणीहरूलाई सम्मान गर्दै ती नै आफ्नो शक्ति र मार्गदर्शन भएको उल्लेख गरेका छन् ।

कार्यवाहक सभापति खड्काले इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय लिन केही समय ढिला भएको स्वीकार गरेका छन् । ‘हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टी एकताबद्ध राखेर प्रतिकूल समयको सामना गर्नु उत्तम ठानियो’ उनले लेखेका छन् ।

उनले विगतका गल्ती–कमजोरी स्वीकार गरेर नेपाली जनतासँग माफी माग्दै फेरि एक पटक कांग्रेसले नै समाधानको नेतृत्व लिन सक्ने गरी उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पारेका छन् ।
‘साथीहरू सबैले एकताबद्ध भएर यो महत्त्वपूर्ण मर्म बुझिदिएर धैर्यता राखिदिनुहुनेछ भन्ने विश्वास छ’ खड्काले सबैमा अपिल गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निरन्तर स्थगित हुँदै आइरहेको बेला उनको यस्तो बयान आएको हो । शनिबारका लागि बोलाइएको बैठक सोमबार दिउँसो २ बजे बस्नेगरि स्थगित भएको छ ।

एक महिनादेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्णयमा पुग्न सकेको छैन । कांग्रेसको महाधिवेशन आउँदो फागुन २१ मा तोकिएको प्रतिनिधि सभाको निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा विवाद छ । त्यस्तै, महाधिवेशन कि विशेष महाधिवेशन भन्ने पनि सहमति जुट्न सकेको छैन ।

त्यसैले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिनादेखि अनिर्णित बनेको छ । बैठक लम्बिँदै जाँदा आलोचना पनि भइरहेको छ ।