काठमाण्डु – पार्टीको १५ औँ महाधिवेशन विवादमा निष्कर्षमा पुग्न नसकेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति पुनः परिवर्तन भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार सोमबार दिउँसो ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने भएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको उनले जानकारी दिए।
कांग्रेसभित्र महाधिवेशनलगायतका विषयमा सहमति नजुटेकाले बैठक प्रभावित भएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिना अघिदेखि जारी छ। महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र तीव्र विवाद छ।
बैठकमा सबै नेताहरूले बोलिसकेपनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णय नदिएर सभापति शेरबहादुर देउवालाई पर्खिएका थिए। देउवा सिंगापुरमा उपचार सकेर नेपाल फर्किसकेका छन्। देउवा स्वदेश फर्केलगत्तै चुनावपछि महाधिवेशन गर्नेगरी सक्रियता बढाएका छन्।




प्रतिक्रिया