काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जारी केन्द्रीय समिति बैठक पुनः स्थगित गरेका छन् ।
सभापति देउवाले बैठक स्थगित गरेर आन्तरिक छलफल तीव्र पारेका छन्।
कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूले फागुनमा हुने संसदीय निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडान राख्दै पार्टी सभापति देउवालाई आवश्यक निर्णय लिन दबाब दिएपछि देउवाले मध्यमार्गी प्रस्ताव अगाडि बढाउन छलफल जारी राअेका हुन्।
अहिले देउवा निवासमा कार्यवाहक सभापति पूर्ण बहादुर खड्का, रामहरी खतिवडासहितका संस्थापन पक्षका नेताहरु पुगेका छन्। उनीहरूबीच छलफल चलिरहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग सम्पर्क गर्दा फोन नउठेको संस्थापन तर्फका एक नेताले बताए।
सभापति देउवाले संस्थापन पक्ष र महामन्त्रीद्वय थापा र शर्मालगायत विशेष महाधिवेशन पक्षधर नेताहरूसँग छलफल अगाडि बढाएर मध्यमार्गी प्रस्ताव गर्न लागेका छन्।
संस्थापन पक्षको कार्यशैलीलाई लिएर सभापति देउवासँग संवादमा बस्न महामन्त्रीद्वयले नचाहेको स्रोतको भनाइ छ। संस्थापन पक्षका नेताहरूले शुक्रबारको बैठकबाट कार्यसमितिको म्याद थप गर्ने बताउन थालेपछि विशेष महाधिवेशन पक्षधर नेताहरूले दबाब दिनको लागि बिहीबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउन लागेका छन्।
तर,अहिलेसम्म खड्काले समय दिएका छैनन्। असोज २८ गतेबाट सुरु भएको बैठक निष्कर्षमा पुग्न नसक्दा बस्दै स्थगित हुँदै आएको छ।
दुवैपक्षसँग संवाद नहुँदा बिहीबार दिउँसो बस्ने भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। पार्टीको मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी मिति परिवर्तन गरिएको हो।
केन्द्रीय समिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ। बैठकमा मुख्य विवाद पार्टी महाधिवेशन चुनाव अघि कि पछि र संसद पुनर्स्थापना गर्ने निर्णय गर्ने कि नगर्ने भन्नेमा केन्द्रित छ।
संस्थापन पक्ष फागुनको चुनावपछि वैशाखमा र इतर पक्ष सके मंसिरमा, नभए चुनाव अघि विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ। नेताहरू गुटगत भेला गरेर आआफ्ना पक्षमा माहौल सिर्जना गरिरहेका छन्। कार्यकर्ताहरू एकले अर्कोलाई दोषारोपण गरिरहेका छन्।





प्रतिक्रिया