काठमाण्डु – महाधिवेशनको मिति टुंग्याउन पटक पटकको प्रयास असफल भएपछि नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आएको छ ।
पटक पटक बसेको अनौपचारिक बैठक अनिर्णित बनेपछि केन्द्रीय कार्य समितिको बैठक पनि अन्योल भएको छ ।
महाधिवेशनको मिति टुंग्याउन आइतबार सरेको केन्द्रीय समिति बैठकअघि सहमति खोज्न सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा इतर समूहका नेता डा. शेखर कोइरालासहितको बैठक राखेका थिए। तर, संस्थापन र महामन्त्रीद्वयले ल्याएको एक अर्को प्रस्तावमा सहमति नभएपछि शनिबार दिउँसो २ बजे पुनः देउवानिवासमा बैठक बस्दैछन् ।
सभापति देउवासँग कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा तथा शर्मा फेरि छलफल गर्न लागेका हुन् । उनीहरूबीच शनिबार लगातार तेस्रो दिन छलफल हुन लागेको हो ।
शुक्रबारको अनौपचारिक बैठकमा सहमतिका आधारमा पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने वा केन्द्रीय समितिमा बहुमतका आधारमा निर्णय लिनेबारे छलफल भएको थियो। सभापति देउवाले विशेष महाधिवेशनमा जान नहुने स्पष्ट पार्दै सहमतिका आधारमा अघि बढ्ने उपाय खोज्न नेताहरूलाई अनुरोध गरेका थिए।




प्रतिक्रिया