कांग्रेसमा महाधिवेशन विवाद टुंगिदै, केन्द्रीय समिति बैठकमा कार्यतालिका पेस हुने

कांग्रेसमा महाधिवेशन विवाद टुंगिदै, केन्द्रीय समिति बैठकमा कार्यतालिका पेस हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पटकपटक सर्दै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दै छ ।

कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा गर्ने संस्थापन र संस्थापन इतर पक्षबीच सहमति भएसँगै बैठक बस्न लागेको हो । यसअघि महाधिवेशनको विषयमा दुवै पक्षबीच विवाद जारी रहँदा केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।

बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने छ ।

असोज २८ देखि महाधिवेशनको विवादमा अल्झिएको कांग्रेसले सभापति शेरबहादुर देउवाको निर्देशन बमोजिम निकास निकालेको हो ।

कांग्रेसले असोज अन्तिम सातादेखि लगातार बैठक गरे पनि महाधिवेशनबारे टुंगोमा पुग्न सकेको थिएन । विशेष महाधिवेशनको माग फिर्ता भए कार्यतालिका स्वीकार्न सकिने मध्यमागी प्रस्तावसँगै सभापति देउवाले पनि निर्वाचनअघि महाधिवेशनका लागि सकारात्मक बनेपछि सोमबारको बैठकमा अर्को कार्यतालिकामा सहमति हुनसक्ने देखिएको छ ।

केन्द्रीय समिति बैठकमा कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्नेछन् । आइतबार कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको छलफलबाट पार्टी सभापतिको आग्रह बमोजिम कार्यतालिका प्रस्ताव तयार पारेका छन् ।

यसअघि महामन्त्री र सहमहामन्त्रीका अलगअलग प्रस्ताव पेस भएकाले सहमतिको प्रस्ताव कार्यवाहक सभापति खड्काले नै पेस गर्न लागेका हुन् ।

कार्यवाहक सभापतिको प्रस्ताव छलफलका लागि नभएर निर्णयार्थ पेस हुनेछ । विशेष महाधिवेशनको माग गरिरहेका महामन्त्री थापा पनि सभापति, कार्यबाहक सभापतिसहितका सबै नेता इमानदारीपूर्वक लागे पुसभित्र महाधिवेशन गर्न सकिने पक्षमा सहमत छन् ।

असोज २९ गते विशेष महाधिवेशनको निवेदन दर्ता भएकाले पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ । पुस २७ गतेदेखि महाधिवेशन गर्नसकिने तालिकाबारे कांग्रेसमा गृहकार्य भइरहेको र सोमबारको बैठकमा प्रस्ताव हुनसक्ने सम्भावना छ ।