काठमाण्डु – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेदवारका लागि मापदण्ड तय गर्दै नाम सिफारिस गर्न परिपत्र गरेको छ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा ‘प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्य पदका उम्मेदवारको नाम सिफारिस गर्ने’ शीर्षकमा परिपत्रमा उम्मेदवारका लागि १० मापदण्ड तोकिएको छ।
माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले मापदण्ड नै बनाएर अघिल्लो पटक प्रदेश तथा प्रतिनिधि सभामा समानुपातिकबाट निर्वाचित व्यक्तिहरू यसपालि उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो।
कांग्रेसले कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएकादेखि लेवी नबुझाउने कुनै व्यक्तिलाई उम्मेदवार नबनाउने भएको छ।
यस्तै जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने प्रावधान बनाइएको छ ।
यस्तै २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति आगामी प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन् । २०७९को प्रदेश सभा निर्वाचनमा समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्ति पनि उम्मेदवारका लागि अयोग्य ठहरिएको छ ।
२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार बन्न कांग्रेसले रोक लगाएको छ ।
कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि एक महिलासहित तीन जना, समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई समेत ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न मातहतका पार्टी निकायलाई परिपत्र गरेको छ । यस्तै राष्ट्रियसभा निर्वाचनका लागि एक सिटमा तीन जनाको नाम सिफारिस गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ ।
आगामी निर्वाचनमा आन्तरिक व्यवस्थापन सुदृढ बनाउन र ‘दोहोरो भूमिकामा’ रहेका व्यक्तिको उम्मेदवारी रोक्दै नेतृत्व विकास र नयाँ पुस्तालाई अवसर दिने उद्देश्यले कांग्रेसले कडाइका साथ मापदण्ड तय गरेको देखिन्छ ।




प्रतिक्रिया