महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्दैछ ।

पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजे तय गरिएको बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि डाकिएको छ ।

पुस २६ देखि निर्धारण गरिएको कांग्रेसको १५औँ नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ । यसै सन्दर्भमा विहीबार साँझ महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्ति निकाल्दै नियमित महाधिवेशन स्थगित गरेको घोषणा गरेका छन् । साथै विशेष महाधिवेशन आव्हान गरेका छन् ।

विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ का लागि भृकुटीमण्डपमा हल बुकिङसमेत गरेको अवस्थामा कांग्रेसमा महाधिवेशनको मुद्दा अझ पेचिलो बनेको छ ।

महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर अबको विकल्प विशेष महाधिवेशन रहेको उल्लेख गरेका छन्।
‘मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ। नियमित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएको कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको छ। उत्पन्न भएको यस्तो अन्योल र अनिश्चिततालाई अन्त्य गर्न यो वक्तव्य जारी गर्न बाध्य भएका छौं,’ विज्ञप्तिमा भनिएको छ। यही मेसोमा बस्न लागेको कार्यसम्पादन समितिलाई चासोका साथ हेरिएको छ ।