महाधिवेशन विवाद : रमेश लेखकले गरे गगन र विश्वसँग छलफल, जुटेन सहमति

महाधिवेशन विवाद : रमेश लेखकले गरे गगन र विश्वसँग छलफल, जुटेन सहमति

केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइयो


काठमाण्डु – नेपाली कांग्रेसमा महाधिवेशन विवाद पेचिलो बन्दै गएपछि वार्ताद्वारा समाधान खोज्न नेता रमेश लेखकले अग्रसरता लिएका छन् ।

नेता लेखकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेपनि उनीहरूबीच सहमति हुन सकेको छैन ।

लेखकले महामन्त्री थापासँग शुक्रबार भेटवार्ता गरेका थिए भने अर्का महामन्त्री शर्मासँग टेलिफोन संवाद गरेका थिए। महामन्त्रीद्वयको आह्वानमा पुस २७ र २८ गते काठमाण्डुमा विशेष महाधिवेशन हुँदैछ ।

‘पार्टीभित्रको विवाद मिलाउन महामन्त्रीजीसँग सामान्य कुरा भएको लेखकले बताए । छलफलमा विशेष महाधिवेशन फिर्ता लिने लेखकको प्रस्ताव थापाले अस्वीकार गरेका स्रोतले बताएको छ ।

महामन्त्री थापा र शर्मासँग संस्थापन पक्षको प्रतिनिधिको रुपमा नभइ व्यक्तिगत रुपमा आफूले छलफल गरेपनि लेखकले बताए ।

सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको विश्वास पात्रका रुपमा चिनिएका लेखक महामन्त्रीसँग छलफल थालेका हुन् ।

यसबीच कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पनि बोलाएको छ । बैठक शनिबार नै पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुनको लागि अनुरोध गरिएको छ ।

संस्थापन इतर समूह विशेष महाधिवेशनको अन्तिम तयारीमा रहेको समयमा बोलाइएको आकस्मिक बैठकलाई अर्थपूर्ण मानिएको छ ।