काठमाण्डु – नेपाली कांग्रेसले बोलाएको कार्यसमितिको आकस्मिक बैठक सकिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरी सकिएको हो ।
कांग्रेस नेता पनि रहेका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहालको उपचारका क्रममा गएराति वीर अस्पतालमा निधन भएको थियो ।
विशेष महाधिवेशनको अन्तिम समयमा बसेको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने उपस्थित थिएनन् ।
पार्टी नेतृत्वसँगको असन्तुष्टिका बीच महामन्त्रीद्वयले बैठक बहिष्कार गरेको बुझिएको छ। । उनीहरु २७ र २८ गते विशेष महाधिवेशन घोषणा गरेर तयारीमा जुटेका छन् ।
यस्ता छन् निर्णय
१) नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रवक्ता, पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार ८४ वर्षीय होमनाथ दाहालको पौष २५ गते शुक्रबारका दिन काठमाडौँमा दुःखद निधन भयो। उहाँको निधनप्रति केन्द्रीय कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ।
२) स्वर्गीय दाहाल नेपाल पत्रकार महासंघको पूर्वसभापति, राष्ट्रपुकार साप्ताहिकका सम्पादक एवं प्रकाशक र गोरखापत्र संस्थानका पूर्वअध्यक्ष हुनुहुन्थ्यो। नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक जेल जीवन बिताउनुभएका स्वर्गीय दाहाल वि।सं। २०५६ को आम निर्वाचनमा ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो। उहाँले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो। स्वर्गीय दाहालले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।
३) उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ। नेता दाहालको आत्माको चिर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ।
४) उहाँप्रति उच्च सम्मान प्रकट गर्दै शोकको कार्यक्रम देहायबमोजिम निर्धारण गरिएको छ ।
(क) २०८२ पौष २६, २७ र २८ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने।
(ख) २०८२ पौष २७ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने।
(ग) स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने।
(घ) स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला ओखलढुंगामा शोक सभाको आयोजना गर्ने।




प्रतिक्रिया