भण्डारी र शर्मा पनि विशेष महाधिवेशनको पक्षमा, पार्टी विभाजन हुन नदिने दाबी

भण्डारी र शर्मा पनि विशेष महाधिवेशनको पक्षमा, पार्टी विभाजन हुन नदिने दाबी


काठमाण्डु – पार्टी जोगाउन भन्दै नेपाली कांग्रेसका नेताहरू चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै भण्डारी र शमौले आफूहरू पार्टी फुट्न नदिने बताएका छन् ।

नेता भण्डारीले आफूहरूले पार्टी विभाजन हुन नदिने बताउँदै विशेष महाधिवेशनलाई नीति महाधिवेशन वा सङ्कल्प अधिवेशनको रूपमा अघि बढाउन प्रस्ताव गरे ।

विशेष महाधिवेशनको तयारीका लागि देशभरबाट नेता-कार्यकर्ता काठमाडौं जम्मा भएसँगै पार्टी फुटको सङ्घारमा पुगेको आशङ्का भइरहेका बेला नेता भण्डारीले यस्तो प्रस्ताव गरेका हुन्।

भण्डारीले पार्टीभित्रको विवादलाई लिएर कार्यकर्ता र शुभचिन्तकहरूमा विभाजनको त्रास देखिनु स्वाभाविक भए पनि नेतृत्वले पार्टी फुट्न नदिने बताए ।

नेता भण्डारीले अबको चार महिनापछि नियमित महाधिवेशनमा आउनेहरूलाई खुराक दिएर उत्साहित बनाउनु पर्ने पनि बताए। उनले भने,ʻविशेष महाधिवेशनको नाममा देशभरिबाट आउनुभएको साथीहरूलाई उत्साहित बनाएर फेरि चार महिनापछि हुने महाधिवेशनमा आउने गरी पठाऔँ।ʼ

नेता भण्डारीले विशेष महाधिवेशनलाई सम्पूर्ण पार्टीको हो भन्ने बनाउनुपर्ने बताए।

नेता भण्डारीले इतिहासले कांग्रेसलाई दिएको जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको औंल्याए। ‘इतिहासले सुम्पेको दायित्वलाई आत्मसात गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानु हाम्रो कर्तव्य हो,’ उनले भने।

अर्का नेता शर्माले पनि आफूहरू पार्टी विभाजन रोक्न लागेको बताए। आफूहरूले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि भेटेर पार्टीपंक्ति उत्साहित हुने गरी निकास निकाल्न लागेको उनले बताए।

उनले विधानको व्यवस्थालाई बेवास्ता गरेर संस्थापन पक्ष अगाडि बढ्नु नै कमजोरी भएको उल्लेख गर्दै शर्माले भने, ‘विधानको व्यवस्थालाई संस्थापन पक्षले बेवास्ता गरेकै कारण कांग्रेस अहिले भिरको डिलमा पुगेको छ। कांग्रेसभित्र सङ्कट पर्नु भनेको मूलकलाई सङ्कट पर्नु हो। त्यसैले हामीले यसलाई रोक्न आग्रह गरिरहेका छौँ।’

विशेष महाधिवेशन पक्षधरलाई पाखा राखेर अर्को ढङ्गले नजाने गरी मध्यमार्गी विकल्पमा दुवै पक्ष आउनुपर्ने बताए।