कांग्रेस विशेष महाधिवेशन : उद्घाटनअघि र्‍याली निकालिने, यस्तो छ रुट

कांग्रेस विशेष महाधिवेशन : उद्घाटनअघि र्‍याली निकालिने, यस्तो छ रुट


काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा शुरु हुन लागेको पार्टीको विशेष महाधिवेशन उद्घाटनअघि आज बिहान र्‍याली गरिँदैछ ।

दिउँसो १ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह शुरु हुनुअघि काठमाण्डुको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोललगायतका क्षेत्रबाट जुलुस प्रदर्शन गर्न लागिएको हो ।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार यी सबै रुटबाट बिहान ११ बजे र्‍याली हुनेछ ।

सुन्धाराबाट सुरु हुने जुलुस वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ। रत्नपार्कबाट निस्कने जुलुस भने पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ।

त्यसैगरी, शंकरदेव क्याम्पसबाट निस्कने जुलुस पुतलीसडक–पद्मकन्या क्याम्पस–विद्युत प्राधिकरण–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ। कमलपोखरीबाट सुरु हुने जुलुस चारखाल अड्डा–डिल्लीबजार–पुतलीसडक–पद्मकन्या क्याम्पस–विद्युत प्राधिकरण–पुरानो बसपार्क हुँदै गन्तव्यमा पुग्ने तय भएको छ।

कुपन्डोलबाट निकालिने जुलुस थापाथली–त्रिपुरेश्वर–सुन्धारा–वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।

जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक कार्यक्रम सुरु हुनेछ । आइतबार बन्दसत्र सुरु हुनेछ भने महाधिवेशन सोमबारसम्म चल्नेछ ।

विशेष महाधिवेशनका लागि काठमाण्डु उपत्यकाका विभिन्न सडकमा पार्टीका झण्डाले सिँगारिएका छन् । कांग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।