के विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ ?

के विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ ?


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा पार्टीको विशेष महाधिवेशन आइतबारदेखि काठमाण्डुको भृकुटीमण्डपमा सुरु भएको छ ।

नेपाली कांग्रेसको इतिहासमा दोस्रो पटक विशेष महाधिवेशन हुन लागेको हो ।

कांग्रेसका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेपछि संस्थापन पक्षको इच्छा विपरीत यसको आयोजना गरिएको हो ।

सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको नाममा मौन बसेपछि अन्ततः थापा र शर्मा विशेष महाधिवेशनका लागि अग्रसर भएका हुन् ।

यद्यपी संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरहरूबीच सहमतिको बिन्दु खोज्न भएको छलफल निष्कर्षमा पुग्न सकेन ।

के नयाँ नेतृत्व चयन हुन्छ ?

कुनै चमत्कार नभए पार्टी विभाजन हुन सक्ने केही नेताहरूको दाबी छ ।

थापा–शर्मा पक्षका एक नेताका अनुसार विशेष महाधिवेशनमा सहभागि हुन आएका प्रतिनिधिहरूले नेतृत्व परिवर्तनको दबाब दिइरहेका छन् ।

प्रतिनिधिहरूले सभापति देउवाको विकल्पमा जाने अडानमा छन् । देउवाको विकल्पमा जो आएपनि स्वीकार गर्ने उनीहरू बताउँछन् । तर देउवा पक्ष लचिलो बनेमा बन्द सत्रबाट विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा परिणत गर्न सकिने नेताहरू बताउँछन् ।

विशेष महाधिवेशनको तालिकाअनुसार आइतबार उद्घाटन मात्र भएको छ भने बन्द सत्र सोमबार हुनेछ । पार्टीको नीति र नेतृत्वको विषयमा बन्द सत्रमा छलफल हुनेछ ।

महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा र संरचनागत परिवर्तनका निम्ति विधान संशोधन गरी चारवटा विषयलाई मुख्य अजेन्डा’ बनाएका छन् ।

यस्तै बन्द सत्रमा महामन्त्रीद्वय थापा र शर्माले दुईजनाको राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुनेछ ।

त्यसैले संस्थापनसँग सहमति भयो भने विशेष महाधिवेशन नीति महाधिवेशनमै केन्द्रित हुने र सहमति नभए नेतृत्व परिवर्तन हुन सक्ने प्रतिनिधिहरूको भनाइ छ ।

चितवन क्षेत्र नं. १ की महाधिवेशन प्रतिनिधि निता ढकालले यो महाधिवेशनबाट नेपाली कांग्रेस झनै बलियो भएर आउने बताउँछिन् । उनले आफूहरू पार्टी फुटाउन नभइ नीति र नेतृत्व परिवर्तन गर्नका लागि महाधिवेशनमा आएको बताइन् ।

‘पार्टी फुट्छ भन्ने बाहिर हल्ला चलेको छ। हामी पार्टी फुटाउन आएको होइनौँ। पार्टीलाई अझ मजबुत बनाएर अझै एकढिक्का बनाउन आएका हौँ,, उनले भनिन्।

नेता शंकर तिवारीका अनुसार विशेष महाधिवेशनले नेतृत्वसमेत परिवर्तन गर्नुपर्ने दवाब रहेको छ । ‘विधान संशोधनदेखि धेरै कुराको प्रस्तावहरू पारित हुन्छन् । नेतृत्व चयन गर्नका लागि पनि ठूलो दवाब छ, उनले भने ।

नेता तिवारीले नेतृत्व बदल्ने, नबदल्ने भन्ने कुरा महाधिवेशन हलले नै निर्णय गर्ने बताए ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार सोमवार बिहान ८ बजे बन्दसत्र सुरु हुन्छ । वरिष्ठ सदस्यले बन्द सत्रको अध्यक्षता गर्ने छन् । बन्द सत्रमै विशेष महाधिवेशन कार्यविधि २०८२ पास गर्ने कार्यक्रम रहको आचार्यले बताए ।

सोमवारको बन्दसत्रमा विभिन्न राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनहरू पेस हुनुका साथै निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने कार्यक्रम छ ।

सातै प्रदेशका सात समूह, काठमाण्डु उपत्यकाको एक समूह र विदेशस्थित सदस्यहरू तथा भ्रातृ सङ्गठनहरूका एक समूह गरी नौवटा समूहबीच छलफल गरिने छन् । ती समूहका नेताले बन्दसत्रमा प्रस्तुत गर्ने छन् र बन्दसत्रले निर्णय गर्ने कार्यताालिका छ ।