काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको पार्टीको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
कोशी प्रदेशबाट ४ सय २५, मधेश प्रदेशबाट ४ सय ४६, बागमती प्रदेशबाट ४ सय ३२, गण्डकी प्रदेशबाट २ सय ९६, लुम्बिनी प्रदेशबाट ३ सय ९८, कर्णाली प्रदेशबाट १ सय ३४, सुदूरपश्चिम प्रदेशबाट १ सय ४८, उपत्यका (काठमाण्डौ, भक्तपुर र ललितपुर)बाट १ सय ७८ र भातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १ सय ९५ गरी दुई हजार ६ सय ६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।
कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि थिए । नाम दर्ता प्रक्रिया र बन्द सत्र सोमबार बिहान ८ देखि भृकुटीमण्डपमा शुरू हुँदैछ ।
कांग्रेस विशेष महाधिवेशन भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न नौ समूह बनाएर छलफल गरिने जानकारी दिइन । बन्दसत्रका लागि प्रस्तुत कार्यविधिमाथि छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ ।
बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने केन्द्रीय सदस्य गौतमले बताइन । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्नेछन् ।
संस्थापन पक्षको अनुपस्थितिबीच आइतबारदेखि शुरू भएको विशेष महाधिवेशनलाई कांग्रेस पुनर्गठनको नवीन प्रयोगको रूपमा हेरिएको छ ।
पार्टीको मुख्य नेतृत्वले रुपान्तरण हुन नचाहँदा नचाहँदै पनि युवापुस्ताको विद्रोहले पार्टीभित्र र अरु दललाई रुपान्तरणका लागि दबाव सिर्जना गरेको छ । विशेष महाधिवेशनमा उपस्थित कार्यकर्तापंक्ति नेतृत्व र नीति परिवर्तनप्रति दृढ देखिएका छन् ।




प्रतिक्रिया